आठ विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया अन्तिम चरणमा, तीन विश्वविद्यालयका उम्मेदवारको अन्तर्वार्ता सुरु

काठमाडौं, १४ असार ।  रिक्त उपकुलपति पदका लागि पूर्वाञ्चल विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय का अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण आइतबारदेखि सुरु भएको छ।

शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत गठित उपकुलपति छनोट तथा सिफारिस समितिले स्वीकृत कार्यतालिका अनुसार तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता र मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरेको जनाएको छ।

मन्त्रालयका अनुसार उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको संस्थागत सुदृढीकरण तथा सक्षम, दूरदर्शी, नवप्रवर्तनमुखी र परिणाममुखी शैक्षिक नेतृत्व चयन गर्ने उद्देश्यले छनोट प्रक्रिया अघि बढाइएको हो। यसले विश्वविद्यालय प्रशासनमा योग्यता, उत्तरदायित्व र उत्कृष्टताको संस्कृतिलाई थप सुदृढ बनाउने विश्वास लिइएको मन्त्रालयले जनाएको छ।

छनोट प्रक्रियाको पारदर्शिता, निष्पक्षता र वस्तुनिष्ठता सुनिश्चित गर्न प्रत्येक अन्तर्वार्ता प्यानलमा सम्बन्धित विषयका विज्ञ तथा उपकुलपति छनोट तथा सिफारिस समितिका सदस्यहरूको सहभागिता रहेको छ। साथै, मूल्याङ्कनलाई प्रभावकारी बनाउन प्रत्येक विश्वविद्यालयका लागि छुट्टाछुट्टै विज्ञ प्यानलको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

पूर्वनिर्धारित कार्यतालिका अनुसार सोमबार पोखरा विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालय का उम्मेदवारहरूको कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन हुनेछ।

यसअघि शनिबार त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालय का उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतीकरण सम्पन्न भएको थियो।

मन्त्रालयका अनुसार आठवटै विश्वविद्यालयको उपकुलपति छनोट प्रक्रिया निर्धारित समयसीमाभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ। यसबाट नेपालको उच्च शिक्षा क्षेत्रमा सक्षम नेतृत्व, संस्थागत सुशासन तथा शैक्षिक उत्कृष्टता प्रवर्द्धन हुने विश्वास व्यक्त गरिएको छ।

मन्त्रालयले सम्बन्धित विश्वविद्यालयका उपकुलपति पदका लागि अल्पसूचीमा परेका उम्मेदवारहरूको नामावली र अन्तर्वार्ता तालिका समेत सार्वजनिक गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्