रास्वपाको महाधिवेशनले चितवनको अर्थतन्त्र चलायमान, ५० करोडभन्दा बढीको कारोबार अनुमान

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनले चितवनको आर्थिक गतिविधिमा उल्लेखनीय प्रभाव पारेको छ। महाधिवेशनका कारण जिल्लामा ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ।

गत आइतबारदेखि सुरु भएको महाधिवेशन शुक्रबार समापन हुँदैछ। महाधिवेशनमा सहभागी हुन देशभरबाट प्रतिनिधि, पर्यवेक्षक र शुभेच्छुक चितवन पुगेपछि होटल, रेष्टुरेन्ट, यातायात तथा अन्य व्यवसाय चलायमान बनेका हुन्।

आवास तथा खाना व्यवस्थापन उपसमितिका संयोजक राजन गौतमका अनुसार महाधिवेशन अवधिमा मात्रै आवासतर्फ करिब २० करोड रुपैयाँ खर्च भएको अनुमान छ। उनका अनुसार एकै दिन करिब २० हजार व्यक्ति चितवनमा बसेका थिए।

भरतपुरका होटल भरिएपछि सौराहा, पूर्वी चितवन तथा नवलपरासीको गैँडाकोटसम्मका होटलमा पनि प्रतिनिधिहरूको बसोबासको व्यवस्था गरिएको थियो। प्रतिनिधिले आफ्नै खर्चमा आवासको व्यवस्था गरेका थिए भने चार दिनको खानाको व्यवस्था पार्टीले मिलाएको थियो। पार्टीको मात्रै चार करोड रुपैयाँभन्दा बढी खर्च भएको गौतमले बताए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार महाधिवेशनका क्रममा बाहिरबाट करिब दुई हजार २०० साना–ठूला सवारीसाधन चितवन आएका थिए।

उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओलीले महाधिवेशनले होटल, रेष्टुरेन्टसँगै दुग्धजन्य पदार्थ, माछा, मासु, अण्डा, फलफूललगायत कृषि उत्पादनको खपत बढाएको बताए। यसले भरतपुरको आर्थिक चक्रमा सकारात्मक प्रभाव पारेको उनको भनाइ छ।

क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओम पाण्डेका अनुसार भरतपुरका होटलले सबैभन्दा बढी लाभ लिएका छन् भने त्यसपछि सौराहालगायतका पर्यटकीय क्षेत्रमा पनि व्यापार बढेको छ। महाधिवेशनमा सहभागी धेरै नेता–कार्यकर्ताले पहिलो पटक चितवनका पर्यटकीय गन्तव्य अवलोकन गर्ने अवसर समेत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्