देउडामा उदाउँदै ‘लालबहादुर’

भीमदत्तनगर
‘चैत काफल झड्डो, फागुन असिनो पड्डो’
‘यो अछामी बड्डो, आइगयो बड्डीका खोज’
‘खेत कुन्या नाई, धान काट्याका निन हाल्याका खेत कुन्या नाई’
‘देश दुनिया नाई यो जोवन सम्हाली सक्ना, देश दुनिया नाई’

माथि उल्लेखित देउडा गीत गाएर सुदूरपश्चिम र मध्यपश्चिममै चर्चाका पात्र बनेका देउडा गायक लालबहादुर धामी यतिबेला गीत संगितको संसारमा व्यस्त भएका छन् ।

कञ्चनपुरका स्थानीय रेडियोमा विभिन्न सांगितिक कार्यक्रम सञ्चालन गर्नुअघि खासै चर्चामा नआएका देउडा गायक धामी पछिल्लो समय सुदूरपश्चिममा देउडा गायनको क्षेत्रमा उदाएका छन् । उनि अहिले देउडा गीतको खम्बा बनिसकेका छन् ।

गायक धामी रेडियो कञ्चनपुरमा काम गर्दैगर्दा ‘अछामी बड्डो’ को नामबाट दर्शक÷स्रोता माझ चिनिएका थिए । देउडा गायक तथा हास्य कलाकार धामीले भने, “विगत दुई वर्षयता एकदमै व्यस्त छु ।”

प्रदेश नं सातमा धेरै प्रतिभा जन्मिए पनि काठमाडौँमा बसेर मात्रै चर्चित भइन्छ भन्ने मान्यतालाई गायक धामीले तोडेका छन् । “मैले सुदूरपश्चिममै बसेर देउडा गीत संस्कृति चिनाउन प्रयास गर्दैआएको छु, देउडालाई युवा पुस्तामाझ बढी प्रख्यात बनाउने काममा लागेको छु,” उनले भने ।

प्रदेश नं ७ र कर्णाली प्रदेशमा आयोजना गरिने मेला÷महोत्सव उनि छुटाउदैनन् । “एक सयभन्दा बढी मेला÷महोत्सवमा आफ्नो प्रस्तुती प्रस्तुत गरिसकेँ,” धामीले भने, “अब चिचिन काठमाडौँ धाउने दिन गए ।”

विसं २०५५ देखि देउडा गायनमा सक्रिय धामीले पहिलो पटक ‘माया जाल लाउ कि त’ नामक एल्बम बजारमा ल्याएका थिए । सत्र वर्षकै उमेरदेखि पहाडी जिल्ला अछामबाट सांगीतिक यात्रा थालेका धामी पछिल्लो समय कञ्चनपुरको भीमदत्तनगरलाई आफ्नो कर्मथलो बनाउँदै आउदै आएका छन् ।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका गायक धामीले एकपछि अर्को देउडा गीत बजारमा लयाउन थालेपछि हरेक मेला÷महोत्सवमा उनि सबैका प्रिय गायक बन्न गुगेका छन् ।

“पाका पुस्ताबाट बढी हौँसला पाउने गरेको छुँ,” उनले भने, “अछामी बड्डो भन्दै गर्दा बुढो मान्छे होला भनेर सम्झिन्छन्, प्रत्यक्ष देख्दा छक्क पर्छन ।” छत्तीस वर्षीय धामीले हालसम्म २५० भन्दा बढी देउडा गीत गाएका छन् ।

उनको ‘अछामी बड्डो’ बोलको गीत सबैभन्दा बढी लोकप्रिय बनेको छ । पछिल्लो समय देउडामा मौलिकता जीवन्त रहने गरी डिजे ¥यापसमेत उनले मिसाउन थालेका छन् ।

‘ठाडी भाका गाए मैले देउडा गीत गाए, आजभोलिका तन्नेरीलाई डिजे गीत ल्याँया’
‘स्कूल पन पढ्या हजुर, क्याम्पस पढ्या’
‘जागिर सागिर नपाएर म त्यत्तिकै सड्या’

यो गीतले पनि पछिल्लो समय निकै चर्चा पाएको धामी बताउछन् । देउडा गीत काठमाडौँको ठमेलमा छायांकन भएकाले युवा पुस्ताले निकै मन पराएको धामीको भनाइ छ । धामी मात्रै होइनन्, देउडा गीत गुन्गुनाएर यहाँका युवा पुस्ताका धेरै कलाकार सांगीतिक क्षेत्रमा जम्न थालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्