रास्वपाको आज केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदै

काठमाडौं, १० असार । चितवनमा सात गतेदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा आज भने केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ । मतदान ‘इलेक्ट्रोनिक भोटिङ मेसिन’मार्फत् हुने रास्वपाले जनाएको छ ।

मतदान आज बिहान नौ बजेबाट सुरु गर्ने तयारी छ । तर राति अबेरसम्म मनोनयन दर्ता भएकाले निर्धारित समयमा मतदान सुरु हुने सम्भावना कम रहेको स्रोतले बतायो ।

रास्वपाको सभापति पदमा भने रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । केन्द्रीय सदस्यहरु चयन भइसकेपछि पदाधिकारीको निर्वाचन गराउने तयारी छ । रास्वपाको विधानमा सभापति र केन्द्रीय सदस्यहरु टुंगो लागिसकेपछि बल्ल महाधिवेशन प्रतिनिधिहरुले पदाधिकारी चयन गर्ने व्यवस्था छ ।

रास्वपाका अनुसार केन्द्रीय सदस्य र पदाधिकारीको मतदान आजै सकाएर आजै नतिजा सार्वजनिक गर्ने तयारी छ ।

रास्वपा महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरु छन् ।

प्रतिक्रिया दिनुहोस्