जापानसँग ४–० ले पराजित ट्युनिसियाको विश्वकप यात्रा समाप्त, समूह चरणबाटै बाहिरियो
काठमााडौं, ७ असार । ट्युनिसियाको विश्वकप यात्रा निराशाजनक रूपमा समाप्त भएको छ। जापानसँग ४–० को फराकिलो अन्तरले पराजित भएसँगै ट्युनिसियाको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना समाप्त भएको हो।
मेक्सिकोको मोन्टेरे स्टेडियममा सम्पन्न खेलमा जापान सुरुदेखि नै प्रभावशाली देखिएको थियो। खेल सुरु भएको चार मिनेट नबित्दै दाइची कामाडाले गोल गर्दै जापानलाई अग्रता दिलाए। त्यसपछि अयासे उएडाले डिफेन्सको कमजोर पक्षको फाइदा उठाउँदै उत्कृष्ट गोल गरेपछि जापानले अग्रता दोब्बर बनायो।
दोस्रो हाफमा पनि ट्युनिसियाले खेलमा फर्कन सकेन। जुन्या इतोले गोलकिपरलाई छक्काउँदै तेस्रो गोल थपे भने अयासे उएडाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै जापानको ४–० को जित सुनिश्चित गरे।
यो खेल विश्वकप इतिहासको १००० औँ खेलसमेत बनेको छ। यसै जितसँगै जापानले एसियाली राष्ट्रका लागि महत्वपूर्ण कीर्तिमान समेत कायम गरेको छ।
प्रतियोगितामा जापान अब ४ अंकसहित अन्तिम ३२ मा प्रवेश गर्ने बलियो स्थितिमा पुगेको छ। समूह चरणको अन्तिम खेलमा उसले स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ।
ट्युनिसियाका लागि प्रतियोगिता चुनौतीपूर्ण रह्यो। यसअघि स्वीडेनसँग ५–१ ले पराजित भएपछि टोलीले प्रशिक्षक परिवर्तन गर्दै हर्भे रेनार्डलाई नियुक्त गरेको थियो। तर नेतृत्व परिवर्तनले पनि नतिजा सुधार गर्न सकेन।
ट्युनिसिया दुई खेलमा ९ गोल खाँदै समूह चरणबाट बाहिरिने तेस्रो टोली बनेको छ। नयाँ ‘हेड–टु–हेड’ नियमका कारण पनि टोलीको यात्रा समूह चरणमै समाप्त भएको हो।









प्रतिक्रिया दिनुहोस्