विश्वकपमा कुरासाओको ऐतिहासिक पहिलो अंक, गोलरक्षक रुम बने नायक
काठमााडौं, ७ असार । विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओले आफ्नो फुटबल इतिहासमै पहिलो विश्वकप अंक जोड्दै नयाँ कीर्तिमान रचेको छ। समूह चरणअन्तर्गत भएको खेलमा कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै महत्वपूर्ण एक अंक हात पारेको हो।
कुरासाओको ऐतिहासिक सफलताका प्रमुख पात्र ३७ वर्षीय गोलरक्षक एलोय रुम बने। उनले खेलभरि १५ वटा उत्कृष्ट बचाउ गर्दै टोलीलाई हारबाट जोगाए। रुमको यो प्रदर्शन विश्वकप इतिहासकै उत्कृष्ट गोलरक्षक प्रदर्शनमध्ये एक मानिएको छ।
रुमले एउटै विश्वकप खेलमा सबैभन्दा धेरै १५ बचाउ गर्ने अमेरिकाका पूर्व गोलरक्षक टिम हावर्डको कीर्तिमानसँग बराबरी गरेका छन्। हावर्डले सन् २०१४ मा बेल्जियमविरुद्धको खेलमा १५ बचाउ गरेका थिए। तर रुमले भने कुनै गोल नखाई टोलीलाई बराबरी दिलाउँदै आफ्नो प्रदर्शनलाई अझ विशेष बनाए।
खेलको तेस्रो मिनेटमै उनले इक्वेडरका कप्तान एनेर भ्यालेन्सियाको नजिकबाट आएको प्रहार रोकेर उत्कृष्ट लयको संकेत दिएका थिए। पहिलो हाफमा मात्रै उनले छ महत्वपूर्ण बचाउ गरे भने दोस्रो हाफमा पनि निरन्तर दबाब झेलेका उनले विपक्षीका एकपछि अर्को आक्रमण विफल बनाइदिए।
मोइसेस काइसेडो, पेड्रो भाइट, केभिन रोड्रिगेज, निल्सन एंगुलो र गोन्जालो प्लाटाका प्रहारसमेत रुमले शानदार ढंगले रोकेका थिए।
कुरासाओले पनि खेलमा गोल गर्ने केही अवसर सिर्जना गरेको थियो। खेलको ६०औँ मिनेटमा लियान्द्रो बाकुना र लिभियाना कोमेनेन्सियाले पाएको अवसर भने सदुपयोग हुन सकेन।
खेलभरि इक्वेडरले २७ पटक गोलका लागि प्रयास गरे पनि कुनै पनि प्रहार सफल हुन सकेन। लगातार दोस्रो खेलमा पनि गोल गर्न नसकेको इक्वेडरमाथि अब समूह चरणबाट बाहिरिने खतरा बढेको छ।
यसअघि आइभोरी कोस्टसँग पराजित भएको इक्वेडरका लागि अन्तिम खेल निर्णायक बनेको छ। समूहको शीर्ष स्थानमा रहेको जर्मनी भने यसअघि नै अर्को चरणमा प्रवेश गरिसकेको छ।
पहिलो खेलमा जर्मनीसँग फराकिलो हार बेहोरेको कुरासाओले भने इक्वेडरविरुद्धको ऐतिहासिक बराबरीसँगै अर्को चरणमा पुग्ने आशा कायम राखेको छ। अब अन्तिम खेलमा आइभोरी कोस्टलाई पराजित गर्न सके कुरासाओको सम्भावना जीवित रहनेछ।









प्रतिक्रिया दिनुहोस्