सम्झौता उल्लङ्घनको सम्पूर्ण जिम्मेवार अमेरीका: इरान

काठमाडौं, ६ असार । इरानले लेबनानसहित सबै मोर्चाहरूमा युद्ध अन्त्य गराउने जिम्मेवारी अमेरिकाको भएको बताएको छ।

यदि भर्खरै भएको सम्झौताको उल्लङ्घन भएमा त्यसको सम्पूर्ण जिम्मेवार वासिङ्टनलाई नै मानिने इरानले स्पष्ट पारेको छ।

अल जजिराका अनुसार इरानका विदेशमन्त्री अब्बास अराघचीले शुक्रबार पाकिस्तानी विदेशमन्त्री इशाक डारसँगको टेलिफोन वार्तामा यस्तो बताएका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका बाध्यताले नभई इरान आफैँ वार्ताको टेबुलमा आएको दाबी गरेका छन्। आगामी ६० दिनसम्म इरानले अमेरिकाबाट एक पैसा पनि नपाउने उनले बताए।

ट्रम्पले इजरायली प्रधानमन्त्री नेतन्याहुलाई ‘योद्धा प्रधानमन्त्री’ भन्दै खुलेर तारिफ गरेका छन्। साथै, आफूले इजरायललाई हेजबुल्लाहसँग युद्धविराम गर्न आग्रह गरेको र यो अमेरिका(इरान सम्झौतापछिको ‘सुनमा सुगन्ध’ जस्तै भएको ट्रम्पले बताए।

उता, इजरायल र हेजबुल्लाहबीच युद्धविराम लागू हुने खबर आएको केही घण्टापछि नै हेजबुल्लाह प्रमुख नईम कासिमले आफ्नो सङ्गठनले इजरायली कब्जालाई कहिल्यै स्वीकार नगर्ने बताएका छन्।

बेरुतमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘हेजबुल्लाह कब्जा गरिएको जमिन मुक्त गर्ने आफ्नो लक्ष्यमा अडिग छ। यो सङ्गठन लेबनानको संविधानको दायरामा रहेर काम गर्छ र विदेशी दबदबालाई खारेज गर्छ।’

यदि दुश्मनले हतियार प्रयोग गरे आफूहरूले पनि हतियारबाटै कडा जवाफ दिने उनले चेतावनी दिए।

यसैबीच, इजरायलले शुक्रबार दक्षिणी लेबनान र बेका उपत्यकामा भीषण हवाई हमला गरेको छ। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार यी हमलाहरूमा ४७ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन्। मार्च २ देखि यता मृत्यु हुनेको सङ्ख्या ३,९८० पुगेको छ।

अमेरिका(इरान वार्ता स्थगित तर कूटनीतिक प्रयास जारी

शुक्रबार स्विट्जरल्यान्डमा हुने भनिएको अमेरिका र इरानबीचको पहिलो औपचारिक वार्ता हाललाई स्थगित भएको छ। लेबनानमा इजरायलको लगातारको हमलालाई लिएर दुई पक्षबीच मतभेद छ।

यद्यपि, सीएनएनका अनुसार ट्रम्पका विशेष दूत स्टिभ विटकफ र उनका ज्वाइँ जेरेड कुश्नर प्राविधिक स्तरको वार्ता पुनः सुरु गर्ने प्रयासमा स्विट्जरल्यान्ड प्रस्थान गरेका छन्।

इरानी विदेशमन्त्री अराघची पनि आज ९शनिबार० त्यहाँ जान सक्ने एक्सियोसले जनाएको छ।

पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग टेलिफोन वार्ता गरी क्षेत्रीय शान्ति र आगामी वार्तालाई कूटनीति तथा संवादमार्फत अघि बढाउने विषयमा जोड दिएका छन्।

त्यस्तै, प्रमुख मध्यस्थकर्ता राष्ट्र कतारका प्रधानमन्त्री तथा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुर्रहमान अल थानी पनि शुक्रबार स्विट्जरल्यान्ड पुगेका छन्।

अमेरिका(इरान सम्झौतापछि १८ जुनमा २५ वटा व्यापारिक जहाजले होर्मुज स्ट्रेट पार गरेका छन्, जुन अप्रिलयताकै सबैभन्दा उच्च सङ्ख्या हो। बेलायतको समुद्री निगरानी केन्द्रले यस क्षेत्रको खतराको स्तरलाई मध्यममा झारेको छ।

यद्यपि, समुद्री माइनहरू हुन सक्ने भन्दै सतर्कता अपनाउन सुझाव दिइएको छ। अझै पनि ५०० भन्दा बढी जहाज र ११ हजार नाविक खाडीमा फसेका छन्।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्