‘शब्दको कूटनीति’मा अल्झिएको छ नेपाल : विश्लेषक भट्ट

काठमाडौं, असार ५ — राजनीतिक विश्लेषक चन्द्रदेव भट्टले नेपाल ‘शब्दको कूटनीति’मा अल्झिएको टिप्पणी गरेका छन्। उनले यस्तो कूटनीतिले राज्यको क्षमता अभिवृद्धिमा खास योगदान नदिएको भन्दै नेपालको विकास मोडेल पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौंमा जारी चारदिने ‘बोधी संवाद’ कार्यक्रममा बोल्दै भट्टले नेपालले अपनाएको विकास मोडेलले देशलाई बाह्य शक्ति र दातामुखी बनाएको बताए। राज्यको क्षमता वृद्धि गर्ने खालका विकासका मोडेलतर्फ ध्यान दिनुपर्ने समय आएको उनको भनाइ थियो।

कार्यक्रममा सेन्टर फर स्ट्राटेजिक एन्ड इन्टरनेसनल स्टडिज (सीएसआईएस) अन्तर्गत फ्रीम्यान चेयर इन चाइना स्टडिजकी वरिष्ठ फेलो हेनरिएटा लेभिनले साना तथा मध्यम शक्ति भएका राष्ट्रहरूबीच सहकार्य र एकता आवश्यक रहेको बताइन्। उनले साना देशहरूबीचको सहकार्यले अमेरिका, चीन वा भारतजस्ता ठूला शक्तिमाथिको निर्भरता घटाउन मद्दत पुग्ने धारणा राखिन्।

लेभिनले साना राष्ट्रहरू नयाँ पहल र गठबन्धनका लागि ठूला शक्तिको प्रतीक्षामा बस्ने प्रवृत्ति रहेको उल्लेख गर्दै आपसी एकीकरणले यस्तो अवस्था अन्त्य गर्न सक्ने बताइन्। साझा चुनौती र अवसरका आधारमा क्षेत्रीय देशहरूले थप सक्रिय भूमिका खेल्नुपर्ने उनको सुझाव थियो।

अष्ट्रेलियाको मेलबर्न विश्वविद्यालयका वरिष्ठ उपप्राध्यापक डा. प्रदीप तनेजाले दक्षिण एसियामा भारतले चीनको गतिविधिलाई मात्र पछ्याउने प्रतिक्रियात्मक नीति अपनाउनु उपयुक्त नहुने बताए। भारतले आफ्ना छिमेकी राष्ट्रहरूसँग सम्बन्ध विस्तारका लागि आफ्नै रणनीति विकास गर्नुपर्नेमा उनले जोड दिए।

उनले बहुजातीय र बहुधार्मिक लोकतान्त्रिक व्यवस्थालाई भारतको प्रमुख शक्ति भन्दै यसले छिमेकी मुलुकहरूसँग सहकार्य गर्न सहज वातावरण सिर्जना गर्न सक्ने बताए।

चीनको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) सम्बन्धमा बोल्दै तनेजाले यसलाई चिनियाँ अर्थतन्त्रको सुस्ततासँग जोडिएको बताए। चीनले निर्माण क्षेत्रमा विकास गरेको अतिरिक्त क्षमतालाई अन्य देशहरूमा विस्तार गर्ने उद्देश्यले बीआरआई अघि बढाएको उनको विश्लेषण थियो।

भारतस्थित सेन्टर फर सोसल एन्ड इकोनोमिक प्रोग्रेसका वरिष्ठ फेलो डा. कन्स्टान्टिनो जेभियरले नेपालमा बढ्दो चिनियाँ प्रभावलाई ध्यानमा राख्दै भारतले आफ्नो नेपाल नीतिमा सन्तुलन कायम गर्नुपर्ने बताए। भारतको नेपाल नीति ‘अस्वीकार’भन्दा बढी ‘परिणाममुखी कार्यान्वयन’मा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।

नेपाली लेखक तथा विश्लेषक अमिषराज मुल्मीले चीन र भारत दुवैले हिमाली क्षेत्रमा पूर्वाधार निर्माणलाई तीव्रता दिएको उल्लेख गर्दै नेपालले आफूलाई भारत–चीनबीचको ट्रान्जिट कोरिडोरका रूपमा विकास गर्न खोजिरहेको बताए।

भूराजनीति तथा सुरक्षा विश्लेषक तथा पूर्वउपरथी सन्तोष बल्लभ पौड्यालले चीनसँग पूर्वाधार, साइबर तथा डिजिटल प्रविधिमा उल्लेखनीय क्षमता रहेको बताए। चीनले सीमा सुरक्षादेखि डिजिटल पूर्वाधारसम्म विभिन्न क्षेत्रमा एकै प्रकारको मोडेल नअपनाएको उल्लेख गर्दै उनले अन्य देशहरूले आफ्ना आवश्यकता र परिस्थितिअनुसार चीनसँग सहकार्य गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्