दमकको नगर सभापतिमा खनालको चर्चा, के गर्छन् उनले ?

दमक, असोज ६ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन चलिरहँदा झापाको दमक नगर समितिमा नेतृत्वको दौड तीव्र बन्न थालेको छ । भोलि बुधबार नगर कार्यसमितिको निर्वाचन हुँदैछ ।

नगर सभापतिका लागि कार्यवाहक नगर सभापति प्रेम भट्टराई, युवराज सागर खनाल र राजेन्द्र सिटौलाको नाम चर्चामा आएको छ । नगर अधिवेशनले आगामी नेतृत्वसँगै दमक कांग्रेसको संगठनात्मक र राजनीतिक दिशासमेत तय गर्ने भएकाले यसपटकको दमकको नेतृत्व चयनलाई महत्वका साथ हेरिएको छ । दमक कांग्रेसमा बलियो आकांक्षीका रूपमा चर्चामा रहेका युवराज खनाल ‘सागर’ ले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । उनले २०६० सालदेखि दमक क्याम्पसमा विद्यार्थीका रूपमा राजनीतिक गतिविधिमा सक्रियता जनाएका थिए । दमक क्याम्पस व्यवस्थापन संकायका संयोजक तथा विसंघ दमक इकाइका क्याम्पस उपसभापतिका रूपमा जिम्मेवारी सम्हालेका खनाल नेविसंघ झापा जिल्ला समितिमा दुई कार्यकाल सदस्यसमेत रहेका थिए ।

२०६२–६३ को जनआन्दोलनका क्रममा विद्यार्थी आन्दोलनको अग्रणी मोर्चामा रहेर नेतृत्व गरेका खनालले त्यसपछि नेपाली कांग्रेस दमक नगरको राजनीतिमा आफ्नो भूमिका विस्तार गरेका हुन् । उनी कांग्रेस दमक नगर सदस्यमा अत्यधिक मतसहित निर्वाचित भएका थिए । त्यसपछि नगर सचिवको जिम्मेवारी सम्हाल्दै संगठनमा काम गरेका खनाल नगर उपसभापतिमा समेत निर्वाचित भएका हुन् । उनी अहिले नगर उपसभापति हुन् । खनालले आफू सभापति भएपछि पार्टीमा असन्तुष्ट भएकालाई पनि समेटेर लाने बताएका छन् । युवा नेतृत्व खनाल सभापति भएर आएपछि पार्टी पनि गतिशील हुने धेरैले विश्वास गरेका छन् । ‘मलाई जिम्मेवारी दिनुुभयो भनें केही गरेर देखाउँछु, पद लिनुमात्रै ठूलो कुरा होइन त्यसको गरिमा बचाएर पार्टीलाई गतिशील बनाउने मेरो लक्ष्य हो’ खनालले भने ।

उनले दुई दिनअघि सामाजिक सञ्जालमा लेखेका छन्–‘नेपाली कांग्रेसको १५औँ महाधिवेशन केवल अधिवेशन होइन, हाम्रो एकता, विचार र भविष्यको यात्राको नयाँ सुरुवात हो । मतभेदलाई होइन, मनलाई जोडौँ । व्यक्तिगत आग्रहभन्दा पार्टीको हितलाई माथि राखौँ । एकताबद्ध कांग्रेस, सुदृढ कांग्रेस र जनताको भरोसाको कांग्रेस निर्माणका लागि १५औँ महाधिवेशनलाई हार्दिकताका साथ सफल पारौँ ।’

स्नातकोत्तर गरेका खनाल विभिन्न संघसंस्थामार्फत सामाजिक गतिविधिमा समेत सक्रिय छन् । विद्यार्थी आन्दोलनदेखि पार्टीको नगर तहसम्मको जिम्मेवारी सम्हाल्दै आएको अनुभवका आधारमा उनी नगर सभापतिका लागि बलियो दाबेदारका रूपमा देखिएका छन् । त्यस्तै कार्यबाहक सभापति प्रेम भट्टराई पनि नगर सभापतिका लागि चर्चामा रहेका छन् । कार्यवाहक सभापतिको भूमिकामा रहँदै नगर संगठन सञ्चालन गरिरहेका भट्टराईको नाम आगामी नेतृत्वका लागि कांग्रेसभित्र अर्थपूर्ण रूपमा हेरिएको छ ।

भट्टराईले नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नगर उपसभापतिको जिम्मेवारी सम्हालेका थिए । नेपाल विद्यार्थी संघका क्षेत्रीय सभापतिसमेत रहेका उनी २०७४ को स्थानीय तह निर्वाचनमा दमक–५ को वडा अध्यक्षका उम्मेदवार बनेका थिए । सामाजिक क्षेत्रमा पनि भट्टराईको सक्रियता रहेको छ । त्यसैगरी राजेन्द्र सिटौलाको नाम पनि दमक नगर सभापतिका लागि चर्चामा छ । सिटौलाको राजनीतिक यात्रा लामो समयदेखि कांग्रेसको स्थानीय संगठनसँग जोडिएको छ । २०५३ सालमा साविक दमक वडा नम्बर १६ को तरुण सभापतिको जिम्मेवारी सम्हालेका उनी कांग्रेसको वडा तहमा लामो समयदेखि सक्रिय छन् । उनले पार्टीको वडा सभापतिको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्