सरकारका नीति र निर्णय जनहितविपरीत रहेको दाहालको आरोप
काठमाडौं, असार ५ — पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सरकारका नीति, कार्यक्रम, बजेट तथा विभिन्न निर्णयहरू जनहितविपरीत रहेको आरोप लगाएका छन्।
शुक्रबार पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार गरिब, मजदुर, किसान तथा उत्पीडित समुदायको हितभन्दा उच्च वर्गको हितमा केन्द्रित रहेको बताए। उनका अनुसार सरकारका नीति तथा कार्यक्रम र बजेटले श्रमिक वर्गविरोधी चरित्र देखाएको छ।
दाहालले सरकारका यस्ता गतिविधिविरुद्ध संसद् र सडक दुवैबाट आवाज उठाउने तयारी भइरहेको जानकारी दिए। साथै, सरकारका जनविरोधी कदमविरुद्ध सबै प्रतिपक्षी दललाई एकजुट बनाएर अघि बढ्ने प्रयास भइरहेको बताए।
उनले लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि संघर्ष गरेका स्थापित राजनीतिक दलहरूलाई कमजोर बनाउने प्रयास भइरहेको आरोप पनि लगाए। प्रतिक्रियावादी शक्तिहरूले दलभित्र विभाजन, अन्तरकलह र भ्रम सिर्जना गर्न खोजिरहेको उनको भनाइ थियो।
दाहालले जनताले सरकारका गतिविधि क्रमशः बुझ्दै जाने अवस्था बनिरहेको भन्दै विपक्षीहरू आत्तिनुपर्ने अवस्था नरहेको बताए।









प्रतिक्रिया दिनुहोस्