रास्वपा महाधिवेशनअघि संगठन पुनर्संरचना: १९ पदाधिकारी, १५८ केन्द्रीय सदस्यसम्म विस्तारको तयारी

काठमाडौं, असार ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनअघि पार्टी संरचनामा ठूलो पुनर्संरचना गर्ने तयारी गरेको छ। प्रस्तावित विधान संशोधनअनुसार पार्टीले पदाधिकारी र केन्द्रीय समितिको दायरा उल्लेख्य रूपमा विस्तार गर्ने भएको छ।

विधान मस्यौदा समितिका सहमहामन्त्री विपिन आचार्य नेतृत्वको समूहले कोषाध्यक्ष, सहकोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्तासहित ६ जना पदाधिकारी र २९ जना केन्द्रीय सदस्य मनोनीत गर्ने प्रस्ताव अघि सारेको थियो। तर त्यसलाई संशोधन गर्दै अब एक उपसभापति, एक महामन्त्री, दुई सहमहामन्त्रीसहित थप पदाधिकारी मनोनीत गर्ने तयारी गरिएको स्रोतले जनाएको छ।

यो प्रस्ताव शनिबार बस्ने केन्द्रीय समितिमा पेश गरिनेछ। समितिबाट पारित भएपछि नयाँ विधानको अन्तिम मस्यौदा तयार हुनेछ।

पार्टी सचिवालय बैठकले आइतबारदेखि सुरु हुने महाधिवेशनमा यी मनोनीत पदबाहेक अन्य सबै पद निर्वाचनमार्फत चयन गर्ने निर्णय गरेको छ।

त्यसैगरी, पार्टीले विधान संशोधन गर्दै “वरिष्ठ नेता” को नयाँ पद राख्ने निर्णय पनि गरेको छ। यो पद यसअघि विधानमा नभए पनि चुनावअघि बालेन शाह लाई अस्थायी रूपमा दिइएको थियो।

बैठकमा पार्टी सभापति रवि लामिछाने नेतृत्वमा निर्णयहरू गरिएको थियो।

सचिवालयले केन्द्रीय समिति सदस्य संख्या पनि १२१ बाट बढाएर १५८ पुर्‍याउने निर्णय गरेको छ। यद्यपि प्रारम्भिक मस्यौदामा यो संख्या १३६ प्रस्ताव गरिएको थियो।

प्रस्तावित संरचनाअनुसार अब रास्वपामा एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला सहित), दुई महामन्त्री, पाँच सहमहामन्त्री (एक महिला सहित), एक प्रवक्ता, तीन सहप्रवक्ता (एक महिला सहित), एक कोषाध्यक्ष र दुई सहकोषाध्यक्ष रहने व्यवस्था हुनेछ।

पार्टीले महाधिवेशनमार्फत यी संरचनागत परिवर्तनलाई अन्तिम रूप दिने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्