रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र, भरतपुरमा १० हजार अट्ने संरचना तयार
काठमाडौं , असार ५, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी चितवनमा तीव्र पारिएको छ। महाधिवेशनको उद्घाटन समारोह भरतपुरस्थित गेस्ट हाउस चौरमा हुने भएको छ भने बन्दसत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ।
रास्वपाले असार ७ गते दिउँसो २ बजे उद्घाटन समारोह सुरु गर्ने तयारी गरेको छ। उद्घाटनअघि असार ६ गते साँझ पार्टीको केन्द्रीय समितिको बैठक भरतपुरमा बस्ने तय भएको छ। उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूबाट शुभकामना मन्तव्य रहने तथा पार्टीका वरिष्ठ नेता एवं बालेन्द्र साह र सभापति रवि लामिछाने ले सम्बोधन गर्ने कार्यक्रम छ।
१० हजार सहभागी अट्ने ‘जर्मन ह्याङ्गर’ निर्माण
गेस्ट हाउस चौरमा घामपानीबाट जोगिने गरी ‘जर्मन ह्याङ्गर’ शैलीको अस्थायी संरचना निर्माण भइरहेको छ। तीन खण्डमा विभाजित उक्त संरचनामा करिब ५ हजार कुर्सी राख्न सकिने र झण्डै १० हजार सहभागी अट्ने जनाइएको छ।
मुख्य संरचना २० मिटर चौडा र ७५ मिटर लामो हुनेछ भने दुई सहायक खण्ड २० मिटर चौडा र ३० मिटर लामो रहनेछन्। उद्घाटन समारोहलाई आकर्षक बनाउन चितवनको सांस्कृतिक पहिचान झल्काउने विभिन्न जातीय नृत्यसमेत प्रस्तुत गरिने तयारी छ।
१०० पदमा निर्वाचन, इ-भोटिङको व्यवस्था
महाधिवेशनबाट १०० जना प्रत्यक्ष निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी पदाधिकारी तथा सदस्यहरू मनोनयन प्रक्रियाबाट चयन गरिने जनाइएको छ। मतदानका लागि इलेक्ट्रोनिक भोटिङ मेसिन (इभीएम) प्रयोग गरिने र त्यससम्बन्धी सम्झौता भइसकेको पार्टीले जनाएको छ।
देशभरबाट आउने प्रतिनिधि तथा कार्यकर्ताहरू चितवन पुग्न थालेका छन्। अधिकांश प्रतिनिधि असार ६ गते साँझसम्म चितवन आइपुग्ने अपेक्षा गरिएको छ।
बन्दसत्रका लागि चितवन उद्योग संघको हल उपलब्ध
यसअघि राजनीतिक प्रकृतिका कार्यक्रमका लागि हल उपलब्ध नगराउँदै आएको चितवन उद्योग संघ ले रास्वपाको बन्दसत्रका लागि तीन दिनका लागि प्रदर्शनी केन्द्रको सभाहल उपलब्ध गराएको छ।
संघका अध्यक्ष मदन घिमिरे का अनुसार उद्योग मन्त्रालय र सुरक्षा निकायहरूको अनुरोधपछि हल उपलब्ध गराउने निर्णय गरिएको हो। उच्च पदस्थ व्यक्तिहरूको सहभागिता र सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर सभाहल प्रयोग गर्न अनुमति दिइएको जनाइएको छ।
होटल खर्च प्रतिनिधिकै, खानाको व्यवस्था पार्टीले गर्ने
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले होटल बसाइँको खर्च आफैं व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ। भरतपुर, नारायणगढ, सौराहा, टाँडी, मेघौली, पटिहानी तथा गैंडाकोट क्षेत्रका होटलहरूमा प्रतिनिधिहरूका लागि कोठा व्यवस्थापन गरिएको छ।
रास्वपा चितवनका सभापति मिनि माधव खनाल का अनुसार करिब ३ हजार प्रतिनिधि तथा अन्य सहभागी गरी झण्डै ४ हजार जनाका लागि २ हजार कोठा आवश्यक पर्ने अनुमान गरिएको छ। यसका लागि १५० देखि २०० होटलसँग समन्वय गरिएको छ।
प्रतिनिधिहरूबाट ५ हजार रुपैयाँ शुल्क संकलन गरिनेछ। यद्यपि, बिहानको नास्ता, खाना, खाजा तथा बेलुकाको भोजनको व्यवस्थापन भने पार्टीले गर्ने जनाएको छ। होटल र कार्यक्रमस्थलबीच आवतजावतका लागि सटल बसको व्यवस्था पनि मिलाइएको छ।
रास्वपाको यो पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक विस्तार, नेतृत्व चयन तथा भावी राजनीतिक दिशाबारे महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।













प्रतिक्रिया दिनुहोस्