चालु आर्थिक वर्षमा विदेशी लगानी प्रतिबद्धता घट्यो, परियोजना र रोजगारी प्रस्ताव भने बढ्यो
काठमााडौं , ४ असार । चालु आर्थिक वर्षमा नेपालमा विदेशी लगानीको प्रतिबद्धता रकम घटेको भए पनि विदेशी लगानीका परियोजना तथा रोजगारी सिर्जनाको प्रस्ताव भने उल्लेख्य रूपमा बढेको देखिएको छ।
उद्योग विभागका तथ्यांकअनुसार गत आर्थिक वर्षमा ६० अर्ब ६० करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता आएकोमा चालु वर्षमा यो रकम घटेर ४७ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ। साउन र भदौ महिनामा उल्लेख्य लगानी प्रतिबद्धता आए पनि त्यसपछिका महिनामा अपेक्षित वृद्धि हुन नसकेको देखिन्छ।
यद्यपि, विदेशी लगानीका नयाँ परियोजनाको संख्या भने बढेको छ। गत वर्ष ७१७ वटा परियोजना स्वीकृत भएकोमा चालु वर्षमा ९१४ वटा पुगेका छन्।
लगानी प्रतिबद्धता घटे पनि रोजगारी सिर्जनाको सम्भावना भने बढेको छ। गत वर्ष १७ हजार २५५ जनालाई रोजगारी दिने प्रस्ताव गरिएकामा यस वर्ष दर्ता भएका उद्योगहरूले २५ हजार ४५० जनालाई रोजगारी दिने प्रस्ताव गरेका छन्।
विदेशी लगानीकर्ताको आकर्षण मुख्यतः साना उद्योगतर्फ केन्द्रित देखिएको छ। गत वर्ष ७०२ वटा साना उद्योग दर्ता भएकोमा यस वर्ष ८९४ वटा पुगेका छन्। मझौला उद्योगको संख्या ९ बाट बढेर ११ पुगेको छ भने ठूला उद्योग ६ बाट ९ पुगेका छन्।
सेयर खरिद तथा सदस्यता सम्झौतामा उल्लेख्य वृद्धि भएको छ। गत वर्ष ३२ वटा यस्ता सम्झौतामार्फत १ अर्ब ९६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो। चालु वर्षमा यस्ता सम्झौता ५३ वटा पुगेका छन्, जसबाट १ खर्ब ११ अर्ब १९ करोड रुपैयाँ बराबरको प्रतिबद्धता आएको छ।
तर प्रविधि हस्तान्तरण सम्झौताको संख्या भने घटेको छ। गत वर्ष ६६ वटा रहेको यस्तो सम्झौता यस वर्ष ४८ वटामा सीमित भएको छ।
क्षेत्रगत रूपमा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी आकर्षण देखिएको छ। गत वर्ष ३१३ वटा परियोजना रहेको यस क्षेत्रमा चालु वर्षमा ५७७ वटा परियोजना दर्ता भएका छन्। कृषि क्षेत्रमा लगानी प्रतिबद्धता उल्लेख्य रूपमा बढ्दै १ अर्ब ४४ करोड रुपैयाँबाट २२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।
पर्यटन क्षेत्रमा भने विदेशी लगानीकर्ताको आकर्षण घटेको देखिन्छ। गत वर्ष २६६ वटा उद्योग दर्ता भएकोमा यस वर्ष २०२ वटामा झरेको छ। सेवा क्षेत्रमा पनि लगानी प्रतिबद्धता ३० अर्ब ४४ करोड रुपैयाँबाट घटेर ४ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ।
यसबीच विदेशी लगानीकर्ताले लाभांश र रोयल्टी रकम फिर्ता लैजाने क्रम बढेको छ। गत वर्ष ९ अर्ब ६० करोड रुपैयाँ लाभांश विदेश लगिएकोमा यस वर्ष यो रकम १७ अर्ब ८० करोड रुपैयाँ नाघेको छ। नेपाली रुपैयाँमा भुक्तानी हुने रोयल्टी १ अर्ब ६८ करोड रुपैयाँबाट बढेर ५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
लगानीकर्तालाई प्रदान गरिने व्यापारिक भिसाको संख्या भने घटेको छ। गत वर्ष २ हजार ६६ जनाले लगानीकर्ता भिसा लिएकोमा यस वर्ष १ हजार ७७४ जनाले मात्र यस्तो भिसा प्राप्त गरेका छन्।
विदेशी लगानी प्रतिबद्धता रकम घटे पनि परियोजना संख्या, रोजगारी सिर्जना तथा सूचना प्रविधि र कृषि क्षेत्रमा बढ्दो आकर्षणले नेपालमा लगानीको संरचना परिवर्तन हुँदै गएको संकेत गरेको छ।









प्रतिक्रिया दिनुहोस्