देशभर १६ सय नयाँ टेलिफोन टावर निर्माण प्रक्रिया अघि बढाइँदै
काठमाडौं, असार ३ — सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको गुणस्तर सुधार र पहुँच विस्तारका लागि करिब १६ सय नयाँ टेलिफोन टावर तथा सम्बन्धित पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाइएको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री तिमिल्सिनाले ग्रामीण तथा दुर्गम क्षेत्रमा इन्टरनेट र दूरसञ्चार सेवाको गुणस्तर कमजोर रहेको गुनासो समाधान गर्न मन्त्रालय गम्भीर रूपमा काम गरिरहेको बताए।
उनका अनुसार दूरसञ्चार विस्तारका लागि आगामी आर्थिक वर्षमा नेपाल टेलिकम मार्फत मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी लगानी हुने तयारी गरिएको छ।
हाल देशभर ४ हजार ८२९ टेलिकम साइट सञ्चालनमा रहेका छन्। तीमध्ये कोशीमा ७६०, मधेसमा ५६८, बागमतीमा १,२७७, गण्डकीमा ५९९, लुम्बिनीमा ८१९, कर्णालीमा ३०५ र सुदूरपश्चिममा ५०१ साइट सञ्चालनमा छन्।
अध्ययनअनुसार थप १ हजार ४४३ नयाँ साइट आवश्यक रहेको देखिएको छ। आवश्यकताभन्दा बढी क्षमताका साथ करिब १६ सय साइट निर्माणका लागि खरिद प्रक्रिया अघि बढाइएको मन्त्रीले जानकारी दिए।
मन्त्री तिमिल्सिनाले दूरसञ्चार पूर्वाधार विस्तारपछि देशभर सेवा गुणस्तरमा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गरे। उपकरण अधिकांश विदेशबाट आयात गर्नुपर्ने भएकाले केही समय लाग्ने भए पनि काम समयमै सम्पन्न गर्न निर्देशन दिइएको उनले बताए।
उनले सरकार नागरिकलाई गुणस्तरीय सञ्चार सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।





प्रतिक्रिया दिनुहोस्