जर्मनीले नेपाललाई दुई वर्षका लागि ३ करोड ७६ लाख युरो सहयोग गर्ने
काठमाडौं, असार ३ — जर्मनी ले नेपालसँगको विकास साझेदारीलाई थप सुदृढ बनाउने प्रतिबद्धतासहित आगामी दुई वर्षका लागि ३ करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।
मंगलबार सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द्विपक्षीय वार्तामा उक्त सहयोग घोषणा गरिएको हो। वार्तामा दुवै देशले ऊर्जा, दिगो आर्थिक विकास र स्वास्थ्य क्षेत्रलाई आगामी सहकार्यका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने सहमति गरेका छन्।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व अर्थ मन्त्रालयअन्तर्गत अन्तरराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख धनीराम शर्माले गरेका थिए भने जर्मन प्रतिनिधिमण्डलको नेतृत्व जर्मनीको आर्थिक सहयोग तथा विकाससम्बन्धी संघीय मन्त्रालयकी दक्षिण एसिया महाशाखा प्रमुख बार्बरा शेफरले गरेकी थिइन्।
घोषित सहयोग रकम नवीकरणीय ऊर्जा प्रवर्द्धन, ऊर्जा दक्षता अभिवृद्धि, विद्युत् वितरण प्रणाली सुदृढीकरण, हरित तथा उत्थानशील कृषि विकास, राजस्व प्रणाली सुधार, गुणस्तरीय पूर्वाधार निर्माण, लैंगिक समानता प्रवर्द्धन, दिगो आर्थिक विकास तथा वित्तीय पहुँच विस्तारका क्षेत्रमा खर्च गरिने जनाइएको छ।
दुवै पक्षले विकास साझेदारीलाई थप प्रभावकारी बनाउँदै नेपालका प्राथमिकता प्राप्त क्षेत्रहरूमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।





प्रतिक्रिया दिनुहोस्