गभर्नर पौडेलको हस्ताक्षरयुक्त नयाँ ५०० रुपैयाँको नोट चलनचल्तीमा
काठमाडौं, असार ३ — नेपाल राष्ट्र बैंक ले गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको ५०० रुपैयाँ दरको नयाँ बैंक नोट बुधबारदेखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार नयाँ नोटको आकार, रङ र डिजाइन भने साविककै रहनेछ। भ३८ट ८३०००००१ देखि ९९९९९९ सम्मका सिरिज नम्बर भएका नोटहरू प्रचलनमा ल्याइएको जनाइएको छ।
नोटको अग्रभागमा सगरमाथा हिमालको चित्र, लालीगुराँसको पानीछाप तथा दृष्टिविहीन व्यक्तिले स्पर्शबाट दर पहिचान गर्न सक्ने दुईवटा काला थोप्ला राखिएको छ।
त्यसैगरी सगरमाथाको दायाँतर्फ रहेको अण्डाकार आकृतिभित्रको कुबेरको चित्र सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने विशेषता समावेश गरिएको छ।
नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो राखिएको छ, जुन सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ।
नोटको पृष्ठभागमा पाटेबाघको चित्र रहेको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटमा गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ भने तल्लो भागमा वि.सं. २०८२ अंकित गरिएको छ।





प्रतिक्रिया दिनुहोस्