राष्ट्रिय आत्मविश्वास संकट चिर्न साहसिक नीतिगत सुधार आवश्यक : विज्ञ
काठमाडौं, असार ३ — नेपालमा देखिएको राष्ट्रिय आत्मविश्वासको संकट चिर्न साहसिक नीतिगत निर्णय र संरचनागत सुधार आवश्यक रहेको अर्थशास्त्री तथा आर्थिक विज्ञहरूले बताएका छन्।
सेन्टर फर सोशल इनोभेसन एण्ड फरेन पोलिसी द्वारा आयोजित चार दिने अन्तर्राष्ट्रिय कन्क्लेभ ‘बोधि संवाद’ मंगलबारदेखि सुरु भएको हो, जसमा अर्थ, सुशासन र विकास नीतिबारे विभिन्न सत्रहरूमा छलफल भइरहेको छ।
उद्घाटन सत्रमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल निर्णायक आर्थिक मोडमा पुगेको भन्दै आगामी १० देखि १५ वर्षमा अर्थतन्त्रको संरचना परिवर्तन गर्ने विकास दृष्टिकोण अघि सारिएको बताए। उनले संस्थागत कमजोरीका कारण विश्वासको संकट गहिरिँदै गएको स्वीकार गर्दै राज्य र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गरे।
पूर्वअर्थमन्त्री रामेश्वर खनालले ऋणसम्बन्धी चिन्ता अतिरञ्जित भएको टिप्पणी गर्दै नेपालमा ऋण सेवा खर्च न्यून रहेको बताए। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बन्द सरकारी उद्योग पुनः सञ्चालन गर्ने प्रयासमाथि प्रश्न उठाए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले युवा पलायन तीव्र हुँदै जाँदा देश दीर्घकालमा जनशक्ति संकटतर्फ जान सक्ने चेतावनी दिए।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले भारतसँग विद्युत् खरिद सम्झौता विस्तार, परीक्षण प्रयोगशाला विकास र ढुवानी पूर्वाधार सुधारमा लगानी बढाउनुपर्ने सुझाव दिए।
सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी सत्रमा विज्ञहरूले संरचनागत सुधार बिना भ्रष्टाचार नियन्त्रण सम्भव नहुने धारणा राखेका थिए।
पूर्वराजदूत शंकर शर्माले पुँजी उत्पादकत्व घट्दै गएको र बैंक ऋणको ठूलो हिस्सा कम उत्पादनशील क्षेत्रमा गएको बताए। अर्थविद् सुचेता प्याकुरेलले कानुनको उद्देश्य नागरिक संरक्षण हुनुपर्नेमा जोड दिइन्।
योजना आयोगका सदस्य पुकार मल्लले प्रशासनिक जटिलताले नीति कार्यान्वयनमा बाधा पुर्याएको बताए भने उद्यमी मनीष श्रेष्ठले स्टार्टअप दर्तामा झन्झटिलो प्रक्रिया रहेको अनुभव सुनाउँदै नवप्रवर्तनमैत्री वातावरण आवश्यक रहेको उल्लेख गरे।
संवाद कार्यक्रम आगामी शुक्रबारसम्म जारी रहने छ।





प्रतिक्रिया दिनुहोस्