नेप्से परिसूचक ६.३१ अंकले घट्यो, कारोबार रकम पनि ओरालो

काठमाडौं २, असार। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.३१ अंकले घट्दै २७०५.४५ विन्दुमा बन्द भएको छ।

अघिल्लो दिन ४ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा यस दिन कारोबार रकम घटेर ४ अर्ब ४ करोड रुपैयाँमा सीमित भएको नेप्सेले जनाएको छ।

यस दिन कुल ३५५ कम्पनीका एक करोड ७ लाख ८ हजार ५९६ कित्ता सेयर किनबेच भएका छन्। कारोबारमा ८० कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको घटेको छ। १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन सोपान फार्मास्युटिकल्सको सेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढ्दै प्रतिकित्ता ७०३ रुपैयाँ १० पैसा पुगेको छ। यस्तै, एपोलो हाइड्रोपावरको सेयर मूल्य १४.९८ प्रतिशतले बढेर प्रतिकित्ता ६०२ रुपैयाँ ४० पैसा कायम भएको छ।

त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ४.९० प्रतिशतले घट्दै प्रतिकित्ता ६०२ रुपैयाँमा झरेको छ। युनिक नेपाल लघुवित्तको सेयर मूल्य ४.०३ प्रतिशतले घटेर प्रतिकित्ता १३३० रुपैयाँ २० पैसामा सीमित भएको छ।

कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको ३९४ रुपैयाँ ८० पैसाको दरमा ३१ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

त्यसैगरी, दोस्रो स्थानमा सिद्धार्थ बैंक रहेको छ। उक्त बैंकको ३९५ रुपैयाँ १० पैसाको दरमा १८ करोड २७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये म्युचुअल फन्ड र व्यापार समूहको परिसूचक वृद्धि भएको छ भने बाँकी ११ समूहको परिसूचक घटेको छ।

प्रतिक्रिया दिनुहोस्