कोरला नाकाबाट आयात गरिएका ६४९ गाडी फुकुवा, बिक्रेता कम्पनीहरूले लैजान थाले
काठमाडौं २, असार । भन्सार छली तथा जाँचपास प्रक्रियामा मिलेमतो भएको आशंकामा सरकारले नियन्त्रणमा लिएका ६४९ वटा सवारीसाधन फुकुवा गरेको छ।
मुस्ताङ जिल्ला प्रशासन कार्यालयका अनुसार सोमबार दिउँसोदेखि सम्बन्धित बिक्रेता कम्पनीहरूले क्रमशः गाडी आफ्नो जिम्मामा लैजान थालेका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारीका अनुसार बजेट सार्वजनिक भएपछि रोकिएका सबै गाडी फुकुवा भइसकेका छन्। “हिजोदेखि नै बिक्रेताहरूले गाडी लैजान थाल्नुभएको हो। केही गाडी लैजाने प्रक्रिया अझै जारी छ,” उनले बताए।
कोरला नाकाबाट आयात गरिएका ती सवारीसाधनहरू बिवाइडी (BYD) का आधिकारिक बिक्रेता साइमेक्स इंकले नेपाल भित्र्याएको थियो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशनमा नेपाल प्रहरीले ती गाडी नियन्त्रणमा लिएको थियो।
यस विषयमा अर्थ मन्त्रालय र भन्सार विभागले संयुक्त रूपमा छानबिन गरेका थिए। सरकारले भन्सार प्रतिनिधि भूपालराज शाक्य, अर्थ मन्त्रालयका नीरन भट्टराई तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रतिनिधि सम्मिलित समिति गठन गरेको थियो।
समितिले सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनमा गाडी आयात प्रक्रियामा आवश्यक सबै कानुनी प्रक्रिया पूरा भएको र कुनै अनियमितता नदेखिएको उल्लेख गरिएको छ।
यसअघि जेठ २७ र २८ गते बसेको संसदीय समितिको बैठकमा अर्थमन्त्री, अर्थसचिव घनश्याम उपाध्याय तथा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले पनि कोरला नाकाबाट आयात गरिएका गाडीहरूको भन्सार तथा आयात प्रक्रियामा कुनै त्रुटि नभएको बताएका थिए।
अर्थ मन्त्रालयले समेत कुनै समस्या नदेखिएको निष्कर्ष निकालेपछि नियन्त्रणमा रहेका सवारीसाधनहरू अन्ततः फुकुवा गरिएको हो। मन्त्रालयले कोरला भन्सार कार्यालयलाई प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो।





प्रतिक्रिया दिनुहोस्