जेठमा राजस्व वृद्धि ठप्प, ९३ अर्ब रूपैयाँ मात्रै संकलन
काठमाडौं १,असार । चालु आर्थिक वर्षको जेठ महिनामा ९३ अर्ब रूपैयाँ बराबरको राजस्व संकलन भएको छ। अघिल्लो आर्थिक वर्षको सोही महिनामा पनि ९३ अर्ब रूपैयाँ नै राजस्व संकलन भएकाले जेठमा राजस्व वृद्धिदर शून्य देखिएको छ।
चालु आर्थिक वर्षभर औसत रूपमा राजस्व संकलनमा वृद्धि देखिए पनि जेठ महिनामा भने अपेक्षाअनुसार सुधार हुन सकेन। अर्थ मन्त्रालयले जेठमा औसत वृद्धिदरभन्दा बढी राजस्व उठ्ने अनुमान गरेको थियो। तर तथ्यांकले त्यसलाई पुष्टि गर्न सकेन।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा बाँडफाँटअघिको कुल राजस्व संकलन १० खर्ब ८१ अर्ब रूपैयाँ पुगेको छ। यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४६ प्रतिशतले बढी हो।
गत आर्थिक वर्षको यही अवधिमा १० खर्ब १५ अर्ब रूपैयाँ राजस्व संकलन भएको थियो।
सरकारले चालु आर्थिक वर्षका लागि १४ खर्ब ८० अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरेको छ। आर्थिक वर्ष समाप्त हुन एक महिना बाँकी रहँदा लक्ष्यको करिब ७१ प्रतिशत मात्रै राजस्व संकलन भएको देखिएको छ।
अघिल्लो आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रूपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको थियो। सो वर्ष यही अवधिसम्म लक्ष्यको ७३ प्रतिशत राजस्व उठेको थियो।
जेठ महिनामा राजस्व वृद्धि नदेखिएपछि वार्षिक लक्ष्य हासिल गर्ने चुनौती अझै कायमै रहेको देखिएको छ।





प्रतिक्रिया दिनुहोस्