रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित

काठमाडौं, ३१ जष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित भएका छन्।

शनिबार भएको अधिवेशनमा अर्यालले दुई मतले अच्युतम लामिछानेलाई पराजित गरेका हुन्। अर्यालले ४१६ मत ल्याए भने लामिछानेले ४१४ मत ल्याए।

नयाँ नेतृत्व चयनका लागि विद्युतीय उपकरणमार्फत मतदान गराइएको हो।

नवनिर्वाचित सभापति अर्याल यसअघि प्रदेशको प्रवक्ता थिए। नुवाकोट–२ का प्रतिनिधि सभा सदस्यसमेत रहेका लामिछाने यसअघि बागमती प्रदेश सभापति थिए।

पहिलो चरणको निर्वाचनमा सभापति र सदस्य निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनमा बाँकी पदाधिकारी छानिनेछन्।

रास्वपाको विधानमा प्रदेश सभापतिमा निर्वाचित हुन ५१ प्रतिशत मत ल्याउनुपर्ने छ।

रास्वपा बागमतीमा चार जना सभापतिका आकांक्षी देखिए पनि अन्तिममा दुई जनामात्रै प्रतिस्पर्धी थिए।

त्यसमध्ये अर्यालले ५१ प्रतिशत मत ल्याएर सभापति निर्वाचित भएको निर्वाचन समितिले बताएको छ।

प्रतिक्रिया दिनुहोस्