काठमाडौँको सार्वजनिक यातायातमा आमूल परिवर्तनको तयारी, ठूला बस र छुट्टै बस लेन सञ्चालन गर्ने योजना
काठमाडौं २९, जेष्ठ । काठमाडौँ उपत्यकाको अस्तव्यस्त सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित, आधुनिक र वातावरणमैत्री बनाउन सरकारले बृहत् पुनर्संरचना योजना अघि सारेको छ। ‘काठमाडौँ दिगो सहरी यातायात आयोजना’ अन्तर्गत तयार प्रतिवेदनले हालको सार्वजनिक यातायात प्रणालीमा रहेका समस्या समाधानका लागि नयाँ रणनीति प्रस्ताव गरेको हो।
पूर्वाधार विकास मन्त्रालयले एसियाली विकास बैंक र विश्व वातावरणीय कोषको सहयोगमा तयार गरेको प्रतिवेदनले रुट दोहोरोपन, साना सवारीसाधनको अत्यधिक चाप, कमजोर नियमन, न्यून सेवा गुणस्तर तथा ट्राफिक जामलाई प्रमुख समस्याका रूपमा औँल्याएको छ।
प्रतिवेदनअनुसार एउटै रुटमा धेरै माइक्रोबस र टेम्पो सञ्चालन हुँदा सडकमा अनावश्यक भीड बढेको छ। यातायात व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा, पुराना तथा असुरक्षित सवारीसाधनको प्रयोग र प्रभावकारी नियमनको अभावले सार्वजनिक यातायात सेवा प्रभावित बनेको उल्लेख गरिएको छ।
योजना अनुसार उपत्यकाका करिब २०० पुराना रुटलाई पुनर्संरचना गरी प्राथमिक, माध्यमिक र तृतीयक गरी तीन तहमा वर्गीकरण गरिनेछ। अत्यधिक यात्रु चाप भएका मुख्य सडकलाई प्राथमिक रुटमा राखी १२ देखि १८ मिटर लामा ठूला बस सञ्चालन गरिनेछ। माध्यमिक रुटमा मझौला बस र तृतीयक रुटमा साना सवारी तथा विद्युतीय टेम्पो सञ्चालन हुनेछन्।
तृतीयक रुटले भित्री बस्तीलाई मुख्य सडकका बस सेवासँग जोड्ने ‘फिडर सेवा’ प्रदान गर्ने योजना रहेको छ। यसले आवासीय क्षेत्र र व्यापारिक केन्द्रबीचको आवागमन सहज बनाउने अपेक्षा गरिएको छ।
प्रतिवेदनले पुराना तथा साना सवारीसाधन विस्थापन गरी कम प्रदूषण गर्ने, अपाङ्गतामैत्री र आधुनिक बस सञ्चालन गर्न सुझाव दिएको छ। साथै यात्रुको सुविधाका लागि प्रत्येक ४०० देखि ६०० मिटरको दूरीमा आधुनिक बस बिसौनी निर्माण गरिनेछ।
सहरको केन्द्र क्षेत्रमा रहेको भीड व्यवस्थापन गर्न कोटेश्वरमा नयाँ अन्तरसहरी बस टर्मिनल निर्माण गर्ने प्रस्ताव गरिएको छ। मुख्य सडकमा सार्वजनिक बसका लागि छुट्टै बस लेनको व्यवस्था गरिने योजना पनि प्रतिवेदनमा समेटिएको छ।
संस्थागत सुधारअन्तर्गत हाल छरिएर रहेका यातायात व्यवसायीलाई एकीकृत गरी सञ्चालन कम्पनी वा सहकारीमार्फत सेवा सञ्चालन गर्ने प्रस्ताव गरिएको छ। सार्वजनिक यातायात व्यवस्थापनका लागि विशेष महाशाखा तथा अधिकारसम्पन्न निकाय गठन गर्ने तयारीसमेत गरिएको छ।
यात्रुलाई सहज सेवा उपलब्ध गराउन एकीकृत भाडा प्रणाली, विद्युतीय टिकट व्यवस्था र आधुनिक बस स्टप निर्माण गरिने उल्लेख छ।
योजनाको प्रारम्भिक चरणमा बल्खु–ग्वार्को र नयाँ बसपार्क–विमानस्थल रुटलाई नमुना परियोजनाका रूपमा विकास गरिनेछ। बल्खु–ग्वार्को खण्डमा विद्युतीय सवारी सञ्चालन गरिनेछ भने नयाँ बसपार्क–विमानस्थल रुटलाई आधुनिक माध्यमिक रुटका रूपमा स्तरोन्नति गरिनेछ।
सरकारले योजना पूर्ण रूपमा कार्यान्वयन भए वार्षिक ठूलो सञ्चालन खर्च बचत हुनुका साथै सडक जाममा उल्लेखनीय कमी आउने दाबी गरेको छ।





प्रतिक्रिया दिनुहोस्