कुमारी बैंकद्वारा नेपालको पहिलो डिजिटल कर्जा प्रणाली सार्वजनिक
काठमाडौं २९, जेष्ठ । कुमारी बैंक लिमिटेडले आइएमएस सफ्टवेयरसँगको सहकार्यमा नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्रणाली (इआरपी) सार्वजनिक गरेको छ।
बैंकले यस सेवामार्फत व्यवसायी ग्राहकहरूलाई इआरपी सफ्टवेयरमार्फत बिनाधितो कर्जा उपलब्ध गराउने जनाएको छ। यसले कर्जा लिनका लागि आवश्यक कागजी प्रक्रिया र शाखा धाउनुपर्ने झन्झट हटाउने विश्वास गरिएको छ।
उक्त प्रणालीमार्फत कर्जा आवेदन, स्वीकृति, वितरण र भुक्तानीसम्मका सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सञ्चालन हुनेछन्। साथै, व्यवसायको बिक्री, कारोबार र मौज्दातसम्बन्धी वास्तविक विवरणका आधारमा कर्जा योग्यता मूल्याङ्कन गरिनेछ।
बैंकका अनुसार तथ्याङ्कमा आधारित यस प्रणालीले छिटो र यथार्थपरक निर्णय लिन सहयोग पुर्याउनेछ। यसबाट परम्परागत धितोबिनै व्यवसायीहरूले वित्तीय सुविधा प्राप्त गर्न सक्नेछन्।
सेवाअन्तर्गत इआरपी प्रयोग गर्ने व्यवसायहरूले आफ्नो कार्यसम्पादनका आधारमा ५ लाख रुपैयाँसम्मको चालु पुँजी कर्जा लिन सक्नेछन्। उक्त कर्जा १२ महिनासम्म समान मासिक किस्तामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।
बैंकले सेवाको प्रयोग, माग तथा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार आगामी दिनमा कर्जा सीमा बढाउँदै वित्तीय प्रक्रियालाई अझ सरल, छिटो र प्रभावकारी बनाउने योजना रहेको जनाएको छ।
यो पहल डिजिटल कर्जा सेवा विस्तार र वित्तीय पहुँच अभिवृद्धि गर्ने उद्देश्यअनुरूप रहेको बैंकको भनाइ छ। विशेषगरी साना तथा मझौला उद्यमलाई लक्षित गरिएको यस सेवाले वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
नेपालमा रहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमलाई लक्षित गरी ल्याइएको यस सेवाले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा समग्र आर्थिक गतिविधिमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।





प्रतिक्रिया दिनुहोस्