ऊर्जा क्षेत्र सुधारका लागि सरकार तयार छ : पूर्वाधार विकास समिति सभापति गजुरेल
जेष्ठ, २९ काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले ऊर्जा क्षेत्रको विकासका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार तयार रहेको बताएका छन्।
शुक्रबार नेपाल विद्युत उत्पादक संघ (इप्पान) को २४औँ साधारणसभा तथा ८औँ अधिवेशनमा स्वागत मन्तव्य दिँदै उनले ऊर्जा क्षेत्रसँग सम्बन्धित समस्या समाधानका लागि सरकार र संसद् दुवै पक्ष सकारात्मक रहेको स्पष्ट पारे।
गजुरेलले नीतिगत तहमा सुधार आवश्यक भए सरकारलाई सुझाव दिन आग्रह गर्दै छलफलमार्फत समाधान खोज्न सकिने बताए।
“नीतिगत तहमा केही सुधार गर्नुपर्ने भए हामीलाई जानकारी दिनुहोला। ऊर्जा क्षेत्रका समस्या भए पनि भन्नुहोला,” उनले भने, “हामी छलफल गरेर आवश्यक परे सम्बन्धित निकायलाई निर्देशन समेत दिन सक्छौँ।”
उनले सरकारले आगामी बजेट तथा नीति कार्यक्रम निजी क्षेत्रमैत्री रूपमा अघि सारेको उल्लेख गर्दै भविष्यमा अझ बढी लगानीमैत्री वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरे।
“हामीले निजी लगानीमैत्री बजेट ल्याएका छौँ। हाम्रो लक्ष्य पूरा गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुन्छ,” गजुरेलले भने, “आगामी दिनमा नीति अझ निजी क्षेत्रमैत्री बनाउँदै लैजान्छौँ।”
उनका अनुसार ऊर्जा क्षेत्र देशको आर्थिक विकासको प्रमुख आधार भएकाले सरकार, संसद् र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य छ।





प्रतिक्रिया दिनुहोस्