भ्रष्टाचार प्रमाणित भए पद छाड्ने अर्थमन्त्री वाग्लेको घोषणा
जेष्ठ, २८, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लगाइएका भ्रष्टाचार र अनियमिततासम्बन्धी आरोपहरूको खण्डन गर्दै कुनै पनि प्रकारको बदमासी प्रमाणित भए मन्त्री पद त्याग्न तयार रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले अर्थ मन्त्रालयमार्फत करका दर परिवर्तन गरेर निश्चित व्यापारीलाई फाइदा पुर्याएको भन्ने आरोप निराधार रहेको दाबी गरे।
अर्थमन्त्री वाग्लेले सार्वजनिक लेखा समितिमा समेत आफूमाथि आएका आरोपबारे स्पष्टिकरण दिएको उल्लेख गर्दै सुशासनप्रतिको आफ्नो प्रतिबद्धतामा कुनै सम्झौता नहुने बताए।
“२ अर्ब होइन, २ रुपैयाँको पनि बदमासी वा बेइमानी मबाट भएको प्रमाणित भए म मन्त्री पद मात्र होइन, सार्वजनिक जीवन नै त्याग्न तयार छु,” उनले संसदमा भने।
उनले सुशासनको एजेन्डा लिएर सरकार अघि बढिरहेको अवस्थामा व्यक्तिगत आरोप लगाउँदा तथ्य र प्रमाणका आधारमा बोल्न आग्रह गरे। साथै, आफूमाथि प्रश्न उठाउने सांसदहरूलाई पनि नैतिक जवाफदेहिता कायम राख्न सुझाव दिए।
वाग्लेले जनताले सुशासनका लागि दिएको विश्वासलाई धोका नदिने प्रतिबद्धता व्यक्त गर्दै संसदको गरिमा जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे।





प्रतिक्रिया दिनुहोस्