विश्वकप फ्री हेर्ने नाममा ठगी, ७७ उजुरीमा १.६८ करोडभन्दा बढी नोक्सानी

जेष्ठ, २८, काठमाडौं । बिहीबार मध्यरातबाट सुरु हुन लागेको विश्वकप फुटबल नि:शुल्क हेर्ने प्रलोभनमा परेर उपभोक्ताहरू ठगीमा परेको पाइएको छ। साइबर अपराधीहरूले विभिन्न लिंक पठाएर ठगी गरेको भन्दै हालसम्म ७७ वटा उजुरी दर्ता भएका छन्।

नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोका अनुसार “फ्री विश्वकप हेर्न” भन्दै पठाइएका शंकास्पद लिंकमा क्लिक गर्दा उपभोक्ताहरू ठगीमा परेका हुन्। ती घटनामा हालसम्म १ करोड ६८ लाख ३८ हजार ६८८ रुपैयाँ बराबरको आर्थिक क्षति भएको उजुरीमा उल्लेख छ।

साइबर ब्यूरोका प्रवक्ता एसपी दिलिप गिरीले जथाभावी लिंक नखोल्न आग्रह गर्दै ठगीको जोखिम बढिरहेको चेतावनी दिएका छन्।

यसैबीच सरकारले विश्वकप फुटबलको अनधिकृत प्रसारण रोक्ने तयारी गरेको छ। फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण अधिकार पाएको ‘एस प्रो मिडिया प्रालि’को अनुरोधपछि सञ्चार मन्त्रालयले अनधिकृत वेबसाइट र मोबाइल एप बन्द गर्ने प्रक्रिया अघि बढाएको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गर्दै प्रतिलिपि अधिकार उल्लंघन गर्ने झन्डै तीन दर्जन अनधिकृत प्लेटफर्महरू बन्द गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्