विदेशमा अध्ययन गर्न जाने विद्यार्थीका लागि विदेशी मुद्रा सटही व्यवस्था सहज

जेष्ठ २६ काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशमा अध्ययन गर्न जाने तथा अध्ययनरत विद्यार्थीका लागि विदेशी मुद्रा सटहीसम्बन्धी व्यवस्था थप सहज बनाएको छ।

राष्ट्र बैंकले नयाँ परिपत्र जारी गर्दै भिसा प्राप्ति, भिसा नवीकरण तथा निर्वाह खर्चका लागि आवश्यक विदेशी मुद्रा सटही प्रक्रियामा सहजीकरण गरेको जनाएको छ।

नयाँ व्यवस्थाअनुसार सम्बन्धित देशको दूतावास वा सरकारी निकायले विद्यार्थीको खाता वा नाममा निश्चित रकम देखाउनुपर्ने प्रावधान रहेको पुष्टि भएमा आवश्यक विदेशी मुद्रा सटही गर्न सकिनेछ।

त्यस्तै, आवश्यक रकम स्थानीय मुद्रामा निर्धारण गरिएको र विनिमय दरको उतारचढावका कारण वास्तविक खर्च यकिन गर्न कठिन हुने अवस्थामा बैंकहरूले आवश्यक रकममा अधिकतम ५ प्रतिशतसम्म थप गरी अमेरिकी डलर वा अन्य परिवर्त्य विदेशी मुद्रा पठाउन सक्नेछन्।

राष्ट्र बैंकले डिजिटल कागजातलाई समेत मान्यता दिएको छ। अब डिजिटल हस्ताक्षरबाट प्रमाणित कागजातहरू पनि स्वीकार गर्नुपर्ने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले सोमबार जारी गरेको परिपत्रसँगै यो व्यवस्था लागू भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्