रास्वपा बागमती प्रदेशको अधिवेशन हेटौँडामा आजबाट सुरु हुँदै

काठमाडौं, २६ जेष्ठ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको अधिवेशन हेटौँडामा आजबाट सुरु हुँदै छ । महाधिवेशन हेटौँडा(१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा अधिवेशन आयोजना गरिएको छ ।
प्रदेशका १३ जिल्लाका करिव १ हजार ५०० प्रतिनिधि सहभागी हुने उक्त अधिवेशन मंगलबार बिहानैबाट तयारी भइरहेको छ । कार्यक्रम स्थलमा नेता तथा कार्यकर्ताहरु आउने क्रम जारी छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तयारी छ ।

अधिवेशन उद्घाटन गर्न सभापति रबि लामिछाने हेटौँडा नआउने भएका छन् । मंगलबार हेटौँडामा हुने भनिएको बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्न सभापति लामिछाने आउने भनिएपनि अन्तिममा उनी नआउने भएका हुन् ।

अधिवेशनको उद्घाटन कार्यक्रममा सहभागी हुन केन्द्रीय समितिका सदस्य पुकार बम, राजीव खत्री लगायतका नेताहरू भने सोमबार नै हेटौँडा आइसकेका छन् । प्रतिनिधि सभाको बैठक भएकाले सभापति लामिछाने आउन नसक्ने रास्वपा स्रोतले जानकारी दियो । तर, सभापति कार्यक्रममा आउने नआउने बारेमा आफूहरूलाई पक्का जानकारी नभएको भन्दै बागमती प्रदेश सभापति अत्युत्तम लामिछाने र मकवानपुर जिल्ला सभापति सञ्जीव पाठकले अनभिज्ञता प्रकट गरे ।

यसअघि बागमती प्रदेश समिति र जिल्ला समिति दुवैले हेटौँडामा हुने बागमती प्रदेश अधिवेशन उद्घाटन गर्न पार्टी सभापति लामिछाने आउने भन्दै प्रचार प्रसार गरेका थिए । यो अधिवेशन सँगै रास्वपा महाधिवेशनमा होमिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्