विश्वकप हेर्न चाहने हजारौँ समर्थक अमेरिकी भिसा नीतिका कारण निराश
जेष्ठ, २४ काठमाडौं । आगामी फिफा विश्वकप २०२६ हेर्न चाहने धेरै देशका फुटबल समर्थकहरू अमेरिकी भिसा नीतिका कारण समस्यामा परेका छन्। बीबीसी वर्ल्ड सर्भिस को विश्लेषणअनुसार विश्वकपमा सहभागी हुने एक चौथाइभन्दा बढी देशका नागरिकले यात्रा प्रतिबन्ध, कडा भिसा प्रक्रिया वा उच्च भिसा अस्वीकृति दरका कारण अमेरिका प्रवेशमा कठिनाइ भोगिरहेका छन्।
इराक का फुटबल समर्थक अब्दुल्ला अदनान ले आफ्नो राष्ट्रिय टोली विश्वकपमा छनोट भएपछि खेल हेर्न टिकट खरिद गरेका थिए। तर अमेरिकी भिसा प्राप्त गर्न नसकेपछि उनले प्रतियोगिता प्रत्यक्ष हेर्ने सपना त्याग्नुपरेको बताएका छन्।
इराकस्थित अमेरिकी दूतावासमा भिसा सेवा बन्द रहेकाले उनी अन्तर्वार्ताका लागि जोर्डन पुगेका थिए। तर जोर्डनका नागरिक नभएको कारण देखाउँदै उनको आवेदन प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ।
यसैबीच, आइभोरी कोस्ट र सेनेगल लगायतका देशका समर्थकहरूले अमेरिकी नीतिको आलोचना गरेका छन्। उनीहरूले युरोपेली देशहरूलाई सहज पहुँच दिइँदा अफ्रिकी तथा विकासशील देशका समर्थकहरूलाई कडा नियम लागू गरिएको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रतिवेदनअनुसार विश्वकपमा छनोट भएका ११ देशका नागरिकको अमेरिकी पर्यटक भिसा अस्वीकृति दर ४० प्रतिशतभन्दा माथि छ। सेनेगलका नागरिकको हकमा यो दर ७० प्रतिशतभन्दा बढी रहेको उल्लेख गरिएको छ। घाना, इजिप्ट र जोर्डन पनि उच्च अस्वीकृति दर भएका मुलुकहरूमा पर्छन्।
जोर्डन फुटबल फ्यान एसोसिएसनका प्रमुख अबु कास ले आवश्यक कागजात बुझाउँदा पनि भिसा अस्वीकृत भएको बताएका छन्। उनले समर्थकहरूलाई विश्वकपबाट वञ्चित गरिएको आरोप लगाएका छन्।
अमेरिकी विदेश मन्त्रालयले भने सुरक्षा जाँच, अध्यागमन नियम तथा भिसा अवधि समाप्त भएपछि अवैध रूपमा बसोबास गर्ने व्यक्तिको संख्या नियन्त्रण गर्न कडाइ गरिएको जनाएको छ।
फिफा विश्वकप २०२६ अमेरिका, क्यानडा र मेक्सिको ले संयुक्त रूपमा आयोजना गर्दैछन्। यद्यपि अधिकांश खेल अमेरिका केन्द्रित हुने भएकाले भिसा चुनौतीले धेरै समर्थकको सहभागितामाथि प्रश्न उठाएको छ।





प्रतिक्रिया दिनुहोस्