म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटी ग्लोबलबीच सम्झौतापत्रमा हस्ताक्षर, दुई अल्ट्रा लग्जरी होटल बन्ने
काठमाडौं, २४ जेष्ठ । चौधरी ग्रुप (सीजी) अन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलबिच काठमाडौँमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई विश्वस्तरीय लक्जरी गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ नेपालमा दुई नयाँ अल्ट्रा लग्जरी होटल निर्माण हुने भएका छन् ।
विश्वप्रसिद्ध हस्पिटालिटी कम्पनी म्यारियट इन्टरनेशनल इन्क र नेपालको बहुराष्ट्रिय व्यावसायिक घराना चौधरी ग्रुप ९सीजी० अन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलबिच काठमाडौँमा ‘द रिट्ज–कार्लटन’ र ‘द वेस्टिन’ सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
यी दुवै प्रिमियम तथा लक्जरी ब्रान्डका होटलहरू सन् २०३१ सम्ममा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । यस सम्झौतासँगै म्यारियटको नेपालस्थित पोर्टफोलियोमा करिब ३०० वटा नयाँ ‘की’ थपिनेछन् भने म्यारियटका विश्व प्रसिद्ध लक्जरी ब्रान्डहरूको नेपालको राजधानीमा औपचारिक प्रवेश हुनेछ ।
क–कसको छ लगानी र साझेदारी ?
नेपालका उच्चस्तरीय र खर्चालु पर्यटकलाई लक्षित गरी निर्माण हुन लागेका यी दुई होटलहरूमा चौधरी ग्रुप ९सीजी० को मुख्य साझेदारी रहेको छ । यसका साथै, यी ऐतिहासिक परियोजनाहरूमा नेपालका अन्य अग्रणी व्यावसायिक घरानाहरू आईईजी ग्रुप, आईजे ग्रुप र शर्मा एन्ड कम्पनीको पनि महत्त्वपूर्ण साझेदारी रहने जनाइएको छ ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा म्यारियट इन्टरनेशनल इन्कका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी हस्पिटालिटी ग्लोबलका अध्यक्ष विनोद चौधरी, सीजी कर्प ग्लोबल तथा सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीको विशेष उपस्थिति रहेको थियो ।
त्यसैगरी, म्यारियट इन्टरनेशनलका एसिया प्रशान्त ९चीन बाहेक० अध्यक्ष राजीव मेनन, दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोटका साथै आईईजी ग्रुप, आईजे ग्रुप तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष एवं सञ्चालकहरूको पनि सहभागिता थियो ।
अर्थतन्त्र र पर्यटनमा योगदानको अपेक्षा:
सम्झौता कार्यक्रममा बोल्दै म्यारियट इन्टरनेशनलका एसिया प्रशान्त अध्यक्ष राजीव मेननले उच्च सम्भावना बोकेको नेपाली बजारमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्न चौधरी ग्रुपसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे ।
‘यी ऐतिहासिक परियोजनाहरूले म्यारियट इन्टरनेशनलका लक्जरी तथा प्रिमियम ब्रान्डहरूको उत्कृष्टता र उच्च मापदण्डलाई झल्काउँछन्,’ मेननले भने, ‘यसले पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना तथा क्षेत्रीय आर्थिक विकासमा समेत महत्त्वपूर्ण योगदान पुर्याउनेछ ।’
त्यसैगरी, सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले यो सम्झौता नेपाल एवं दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रलाई नयाँ उचाइमा पुर्याउने चौधरी ग्रुपको यात्राको नयाँ अध्याय भएको बताए ।
उनले भने, ‘हामी स्थानीय संस्कृति झल्काउने, रोजगारी सिर्जना गर्ने तथा पर्यटक र समुदायलाई उत्कृष्ट अनुभव प्रदान गर्ने प्रतीकात्मक गन्तव्यहरू निर्माण गर्नेछौँ । सीजी हस्पिटालिटी नेपालमै विश्वस्तरीय प्रपर्टीहरू विकास गर्दै नेपालको पर्यटन उद्योगलाई अर्को स्तरमा पुर्याउन प्रतिबद्ध छ ।’
कस्तो हुनेछ ‘द रिट्ज- कार्लटन, काठमाडौँ’:
नेपालमा पहिलो पटक प्रवेश गर्न लागेको ‘द रिट्ज–कार्लटन’ ले काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा आफ्नो सेवा विस्तार गर्नेछ । आकर्षक सौन्दर्य र प्रिमियम सेवाका लागि विश्वमै चिनिएको यस होटलमा ३० वटा विशाल सुइटसहित कुल १५० वटा रुम रहनेछन् ।
पाहुनाका लागि पाँच वटा फरक रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर र प्रख्यात ‘द रिट्ज–कार्लटन स्पा’ उपलब्ध हुनेछ । व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि ११०० वर्ग मिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको अत्याधुनिक सुविधा सम्पन्न हल निर्माण गरिनेछ ।
कस्तो हुनेछ ‘द वेस्टिन काठमाडौँः
पर्यटकको स्वास्थ्य तथा सन्तुलित जीवनशैलीलाई प्राथमिकता दिने ’वेस्टिन’ ब्रान्डको यस होटलमा पनि १५० वटा प्रिमियम रुम तथा सुइटहरू रहनेछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोमिटर दूरीमा यो होटल अवस्थित हुनेछ ।
होटलमा तीन वटा डाइनिङ स्थल, वेस्टिनवर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाई वेस्टिन र रुफटप स्विमिङ पुल रहनेछ । नेचुरल लाइट ९प्राकृतिक प्रकाश० र स्मार्ट प्रविधियुक्त ७०० वर्ग मिटरभन्दा बढीको बैठक तथा बैंक्वेट सुविधा यस होटलको अर्को आकर्षण हुनेछ ।
म्यारियट र सीजीको बढ्दो विश्वव्यापी साझेदारी ?
यो सम्झौता म्यारियट इन्टरनेशनल र सीजी हस्पिटालिटीबिच विश्वभर विस्तार हुँदै गएको सहकार्यको पछिल्लो कडी हो । दुई वर्षभन्दा कम अवधिमा यी दुई कम्पनीबिच भारतमा मात्रै ‘सिरिज बाई म्यारियट’ अन्तर्गत ७५ भन्दा बढी होटलको सम्झौता भइसकेको छ, जसमध्ये ४३ सहरमा ५० होटल सञ्चालनमा आइसकेका छन् ।
सीजीले फिलिपिन्समा ‘द फार्म एट सान बेनिटो, अटोग्राफ कलेक्सन’ सञ्चालनमा ल्याएको छ । दुबई आइल्यान्ड्समा सेन्ट्रल दुबईकै पहिलो ‘जेडब्लु म्यारियट ब्रान्डेड रेसिडेन्स’ र भारतको सिलिगुडीमा ‘जेडब्लु म्यारियट होटल’ को निर्माण पनि यही साझेदारीअन्तर्गत अघि बढेको छ ।
कस्ता छन् म्यारियट र सीजी कम्पनी ?
अमेरिकाको मेरील्यान्डमा मुख्यालय रहेको म्यारियट इन्टरनेशनल विश्वकै अग्रणी हस्पिटालिटी कम्पनी हो । हाल १४६ देशमा यसका ९,९०० भन्दा बढी होटल सञ्चालनमा छन् । कम्पनीले विश्व प्रसिद्ध ट्राभल प्लेटफर्म ‘म्यारियट बोनभोय’ पनि सञ्चालन गर्दछ ।
अर्कोतर्फ, नेपालको सबैभन्दा ठुलो बहुराष्ट्रिय कम्पनी चौधरी ग्रुपको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटीको उपस्थिति हाल विश्वका १२ देशका १३० गन्तव्यमा फैलिएको छ । यसअन्तर्गत २२० भन्दा बढी होटल तथा रिसोर्ट र १३, हजार ८३५ भन्दा बढी कोठाहरू सञ्चालनमा छन् ।
सीजीले ताज, जेटविङ, हिल्टन, फेयरमन्ट जस्ता ब्रान्डसँग साझेदारी गर्दै आएको छ भने सन् २०३० सम्ममा आफ्नो पोर्टफोलियो ६०० होटल र ३० हजार ‘की पुर्याउने लक्ष्य राखेको छ । यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो कायपलत हुनेछ ।





प्रतिक्रिया दिनुहोस्