विश्व बजारसँग जोडिन निजी क्षेत्रको भूमिका सशक्त बनाउनुपर्ने : राजेशकाजी श्रेष्ठ
जेष्ठ २४ काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका सल्लाहकार परिषद् अध्यक्ष तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ ले नेपालको उद्योग–व्यापार क्षेत्रलाई विश्व बजारसँग प्रभावकारी रूपमा जोड्न निजी क्षेत्रको भूमिका अझ सशक्त र गतिशील हुनुपर्ने बताएका छन्।
महोत्तरी चेम्बर अफ कमर्सद्वारा बर्दिबासमा आयोजित ‘नेपालको वर्तमान उद्योग, व्यापार तथा अन्तर्राष्ट्रिय बजारसँगको समन्वय : अवस्था, अवसर, चुनौती र भावी मार्गचित्र’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै श्रेष्ठले आर्थिक विकासको मेरुदण्ड निजी क्षेत्र भएकाले यसको सशक्तीकरण बिना दिगो समृद्धि सम्भव नहुने बताए।
उनले जनकपुर–बर्दिबास क्षेत्र धार्मिक, सांस्कृतिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै सडक सञ्जाल र पर्यटन सम्भावनाले यस क्षेत्रलाई विकासको केन्द्रका रूपमा स्थापित गर्न सक्ने बताए। जानकी मन्दिरका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमनले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाइरहेको उनको भनाइ थियो।
श्रेष्ठले स्थानीय उत्पादनको प्रवर्द्धन, निर्यात वृद्धि, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विस्तारमार्फत राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन सकिने बताए। “जहाँ उत्पादन बलियो हुन्छ, त्यहाँ अर्थतन्त्र स्वतः बलियो हुन्छ,” उनले भने।
उनले “थिंक ग्लोबल, एक्ट लोकल” को अवधारणालाई व्यवहारमा उतार्दै नेपालका सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न निजी क्षेत्र, सरकार र नीतिगत संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताए।
कार्यक्रममा महोत्तरी चेम्बर अफ कमर्सका अध्यक्ष सुधिर अग्रवालले उद्योगी–व्यवसायीको हित संरक्षण, व्यवसायिक वातावरण सुधार तथा स्थानीय आर्थिक गतिविधि सुदृढीकरणका लागि चेम्बर सक्रिय रहेको बताए। उनले सरकारी निकाय र निजी क्षेत्रबीच सहकार्य विस्तार गरी उद्योग, व्यापार र रोजगारीका अवसर बढाउन सकिने धारणा राखे।
कार्यक्रममा सहभागी उद्योगी, व्यवसायी तथा सरोकारवालाहरूले स्थानीय उद्योग प्रवर्द्धन, व्यवसायमैत्री नीति, सहज बैंकिङ पहुँच, कर प्रणाली सुधार तथा औद्योगिक पूर्वाधार विकासमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने सुझाव दिएका थिए। साथै, महोत्तरी चेम्बर अफ कमर्सका कार्यसमिति सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।





प्रतिक्रिया दिनुहोस्