परिषदद्वारा प्रधानन्यायधीशमा दीपकराज जोशीको नाम सिफारिस

 

काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायधीशमा वरिष्ठतम न्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको परिषदको बैठकले जोशीको नाम सिफारिस गरेको परिषदका सदस्यसमेत रहेका कानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए । कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी समालि रहेका जोशीलाई उच्च नैतिक चरित्र, इमान्दारिता र कार्य दक्षता समेतलाई दृष्टिगत गरी प्रधानन्यायाधीशमा सिफारिस गरिएको मन्त्री तामाङले बताए ।

संवैधानिक परिषदको सिफारिस संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि जोशीलाई राष्ट्रपति विद्या भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । जोशी अतिरिक्त न्यायाधिश, पुनरावेदन अदालतको मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीशको जिम्मेवारीमा पुगेका हुन् ।

गत फागुन ३० गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएपछि वरिष्ठतम न्यायाधीशको रुपमा जोशी कायममुकाम प्रधानन्यायाधीशमा चयन भएर काम गरिहेका थिए ।

तर लामो समयसम्म सर्वोच्च अदालत नेतृत्वविहीन भए पनि संसदको कार्यसञ्चालन नियमावली नबन्दा संसदीय सुनुवाइ हुन नसक्ने हुनाले प्रधानन्यायाधीश चयन हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्