भारतको अर्थतन्त्र ७.७ प्रतिशतले बढ्ने अनुमान, उत्पादन र सेवा क्षेत्रको बलियो योगदान

जेष्ठ, २४ । काठमाडौं । भारतको अर्थतन्त्रले आर्थिक वर्ष २०२५–२६ (अप्रिल २०२५–मार्च २०२६) मा ७.७ प्रतिशतको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ। सरकारी तथ्याङ्कअनुसार यो वृद्धिदर अघिल्लो आर्थिक वर्ष २०२४–२५ को ७.१ प्रतिशतको तुलनामा उच्च हो।

तथ्याङ्क तथा कार्यक्रम कार्यान्वयन मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार जनवरी–मार्च अवधिमा भारतको वास्तविक जिडिपी वृद्धिदर ७.८ प्रतिशत पुगेको छ। मध्यपूर्वमा जारी भू–राजनीतिक तनाव र अन्तर्राष्ट्रिय अनिश्चितताबीच पनि भारतीय अर्थतन्त्रले उल्लेखनीय उत्थानशीलता प्रदर्शन गरेको मन्त्रालयले जनाएको छ।

कृषि तथा मत्स्यपालन क्षेत्रको सकारात्मक प्रदर्शनका कारण प्राथमिक क्षेत्रमा ३.२ प्रतिशतको वृद्धि दर्ज भएको छ। यसका साथै उत्पादन (म्यानुफ्याक्चरिङ), व्यापार, होटल, यातायात, सञ्चार तथा प्रसारणसँग सम्बन्धित सेवा क्षेत्र र घरजग्गा (रियल एस्टेट) क्षेत्रमा दोहोरो अङ्कको वृद्धिदर हासिल भएको तथ्याङ्कले देखाएको छ।

विशेषज्ञहरूका अनुसार उत्पादन तथा सेवा क्षेत्रको विस्तार, आन्तरिक मागमा सुधार र पूर्वाधार विकासमा भएको लगानीले भारतीय अर्थतन्त्रको वृद्धि दरलाई थप मजबुत बनाएको छ। सरकारले आगामी वर्षहरूमा पनि उच्च आर्थिक वृद्धिदर कायम रहने अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्