नेपाल सरकारले आफ्नै ह्वाट्सएपजस्तै म्यासेजिङ एप विकास गरिरहेको अर्थमन्त्री वाग्लेको दाबी
जेष्ठ, २२ काठमाडौं ।अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल सरकारले ह्वाट्सएपजस्तै म्यासेजिङ एप विकास गरिरहेको बताएका छन्।
सेतोपाटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको फिनटेक कन्क्लेभमा सम्बोधन गर्दै उनले सरकार डिजिटल पूर्वाधार स्वदेशमै विकास गर्ने दिशामा अघि बढिरहेको बताए।
उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सूचना प्रविधि विभागलाई पुनःसंरचना गरी दर्जनौँ आईटी विज्ञहरू परिचालन गरेर सरकारी सफ्टवेयर र हार्डवेयर स्वदेशमै विकास गर्ने योजना अघि सारिएको छ। यसबाट राज्यले ठूलो मात्रामा खर्च बचत गर्न सक्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले सरकारले आफ्नै सुरक्षित म्यासेजिङ प्रणाली तयार गरिरहेको उल्लेख गर्दै त्यसको प्रारम्भिक स्वरूप आफूले देखिसकेको बताए।
“नेपाल सरकारको आफ्नै ह्वाट्सएपजस्तो म्यासेजिङ सर्भिस हेर्न पाएँ। सजिलै स्क्यान गर्न मिल्ने, सुरक्षित र डकुमेन्ट सेयर गर्न सकिने प्रणाली हो,” उनले भने, “अब हाम्रो संवाद विदेशी सर्भरमा होइन, आफ्नै प्रणालीमा सुरक्षित रहनेछ।”
सरकारको डिजिटल आत्मनिर्भरता र सूचना प्रविधि क्षेत्रमा स्वदेशी क्षमताको विकासलाई प्राथमिकतामा राखिएको पनि उनले बताए।




प्रतिक्रिया दिनुहोस्