नेपालगन्ज भन्सारले १० महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व संकलन गर्यो
जेष्ठ, २२ काठमाडौं । नेपालगन्ज भन्सार कार्यालय ले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा लक्ष्यको ६८.२ प्रतिशत राजस्व संकलन गरेको जनाएको छ।
कार्यालयका प्रमुख जनार्दन पौडेल का अनुसार चालू आवका लागि २४ अर्ब ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य निर्धारण गरिएकोमा वैशाख मसान्तसम्म १६ अर्ब ७३ करोड ९७ लाख ५९ हजार रुपैयाँ असुली भएको छ।
उनले लक्ष्य पूरा गर्न बाँकी दुई महिनामा करिब ३२ प्रतिशत राजस्व संकलन गर्नुपर्ने चुनौती रहेको बताए। चालू आवमा मासिक रूपमा तोकिएको लक्ष्य कुनै पनि महिनामा पूरा हुन नसकेको भए पनि चैत र वैशाखमा राजस्व संकलनमा सुधार देखिएको उनले जानकारी दिए।
कार्यालयका अनुसार साउनदेखि माघसम्म अधिकांश महिनामा लक्ष्यभन्दा कम राजस्व संकलन भएको थियो। यद्यपि फागुन, चैत र वैशाखमा संकलन दर क्रमशः सुधार हुँदै गएको देखिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा नेपालगन्ज भन्सारले लक्ष्यको ७४.६४ प्रतिशत राजस्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०८०/८१ मा यो दर ६३.३५ प्रतिशत रहेको थियो।
प्रमुख पौडेलले नेपाल–भारत सीमा क्षेत्रस्थित जमुनाह एकीकृत जाँचचौकी सञ्चालनमा आएपछि आयात–निर्यात वृद्धि भई राजस्व बढ्ने अपेक्षा गरिए पनि पछिल्ला केही वर्षदेखि लक्ष्यअनुसार राजस्व संकलन हुन नसकेको बताए।
उनका अनुसार आर्थिक गतिविधि, आयातको मात्रा तथा बजारको अवस्थाले पनि भन्सार राजस्वमा प्रत्यक्ष प्रभाव पारिरहेको छ।




प्रतिक्रिया दिनुहोस्