रोमानिया पठाइदिने भन्दै ठगी गर्ने म्यानपावर सञ्चालक र कर्मचारी पक्राउ

जेष्ठ २१ काठमाडौं । वैदेशिक रोजगारीका लागि रोमानिया पठाइदिने प्रलोभन देखाएर सर्वसाधारणबाट करोडौं रुपैयाँ ठगी गरेको आरोपमा म्यानपावर सञ्चालक र उनका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–८ निवासी ३७ वर्षीय उद्धव पाठक र रतुवामाई–९ का २५ वर्षीय अभि भण्डारी रहेका छन्। भण्डारी रतुवामाई–८ स्थित दाम्राभिट्टामा पाठकले सञ्चालन गरेको जेष्ठ २१ काठमाडौं ।  मा लेखापाल तथा एजेन्टका रूपमा कार्यरत थिए।

ठगीसम्बन्धी उजुरी परेपछि दुवै जनालाई सोमबार साँझ पक्राउ गरिएको मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए। हाल उनीहरूलाई इलाका प्रहरी कार्यालय सिजुवामा राखेर अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार बुधबारसम्म ९२ जनाले करिब साढे ३ करोड रुपैयाँ बिगो दाबीसहित जाहेरी दिएका छन्। उजुरी आउने क्रम अझै जारी रहेको र पीडितको संख्या थप बढ्न सक्ने प्रहरीको भनाइ छ।

प्रारम्भिक अनुसन्धानमा पाठकले रतुवामाई क्षेत्रमा म्यानपावर कम्पनी सञ्चालन गरी तीन सयभन्दा बढी व्यक्तिलाई ठगी गरेको आशंका गरिएको छ। उनीहरूविरुद्ध अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पाठकले पछिल्ला चार वर्षदेखि विदेश पठाइदिने भन्दै रकम संकलन गरे पनि अधिकांशलाई वैदेशिक रोजगारीमा पठाएका थिएनन्। उनीविरुद्ध इलाका प्रहरी कार्यालय सिजुवा, उर्लाबारी, जिल्ला प्रहरी कार्यालय मोरङ तथा काठमाडौंमा समेत उजुरी परेको छ।

रोमानियामै बस्दै आएका पाठक करिब एक महिनाअघि मात्र नेपाल फर्किएका थिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्