अध्ययन बिदामा गएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता
जेष्ठ, २१ काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट १० करोड ४६ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता भएको छ।
सहकुलपति तथा शिक्षा मन्त्री सस्मित पोखरेलले उच्च शिक्षा क्षेत्रमा सुशासन, जवाफदेहिता र संस्थागत अनुशासन कायम गर्ने अभियानअन्तर्गत यो उपलब्धि हासिल भएको बताएका छन्।
उनका अनुसार शिक्षा तथा खेलकुद मन्त्रालयको पहल र त्रिभुवन विश्वविद्यालयको सक्रियतामा अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकहरूबाट हालसम्म ठूलो रकम फिर्ता भएको हो भने अझै केही प्राध्यापकहरू फिर्ता प्रक्रियामा सहभागी भइरहेका छन्।
मन्त्री पोखरेलले अध्ययन बिदा विश्वविद्यालयले दक्ष, अनुसन्धानमुखी र अन्तर्राष्ट्रिय स्तरको प्राज्ञिक जनशक्ति उत्पादनका लागि प्रदान गर्ने अवसर भए पनि त्यसको दुरुपयोग हुनु गलत भएको बताए। उनले सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक तथा नैतिक रूपमा क्षति पुर्याएको उल्लेख गरे।
सरकारले सार्वजनिक स्रोतको दुरुपयोग रोक्न र विश्वविद्यालय प्रणालीलाई अझ उत्तरदायी बनाउने दिशामा काम अघि बढाइरहेको उनको भनाइ छ।




प्रतिक्रिया दिनुहोस्