नयाँ दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, २१ जनाको मृत्यु
जेष्ठ २०, काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेस्टुरेन्टमा भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
बुधबार बिहान मालवीय नगर क्षेत्रमा रहेको ‘लेमन ग्रीन’ रेस्टुरेन्टमा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा मृतक संख्या अझ बढ्न सक्ने आशंका गरिएको छ।
आगलागीपछि दिल्ली अग्नि सेवा, दिल्ली प्रहरी तथा अन्य उद्धार निकाय तत्काल घटनास्थलमा परिचालन भएका थिए। बिहान करिब ८:५० बजे आगो नियन्त्रण तथा उद्धारका लागि ठूलो संख्यामा दमकलसहित विशेष आपत्कालीन उपकरण परिचालन गरिएको थियो। उद्धार कार्यमा दुई वाटर टेन्डर, दुई वाटर बाउजर, द्रुत प्रतिक्रिया सवारीसाधन तथा अन्य आवश्यक उपकरण प्रयोग गरिएको बताइएको छ।
उद्धार टोलीले रेस्टुरेन्टको बेसमेन्टबाट तीन जनालाई जीवितै उद्धार गरेको थियो। उनीहरूलाई तत्काल क्याट्स एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।
घाइते तथा जलेका अधिकांश व्यक्तिहरूलाई साकेतस्थित म्याक्स अस्पतालमा भर्ना गरिएको छ। अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उपचारका लागि ल्याइएका ३९ जनामध्ये १८ जनाको अस्पताल पुग्नुअघि नै मृत्यु भइसकेको थियो।
हाल १५ जना आईसीयूमा उपचाररत रहेका छन्। तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई भेन्टिलेटरमा राखिएको अस्पतालले जनाएको छ। पाँच जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।
आगलागीको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता तथा उपराज्यपाल तरणजीत सिंह सन्धूले गहिरो दुःख व्यक्त गरेका छन्।
प्रधानमन्त्री मोदीले मृतकका परिवारलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही दुई लाख भारतीय रुपैयाँ र घाइतेलाई ५० हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराइने घोषणा गरेका छन्।
मुख्यमन्त्री गुप्ताले सामाजिक सञ्जाल एक्समार्फत सरकारको प्रत्यक्ष निगरानीमा उद्धार तथा उपचार कार्य भइरहेको जानकारी दिँदै दिल्ली अग्नि सेवा, प्रहरी, दिल्ली डिजास्टर म्यानेजमेन्ट अथोरिटी र क्याट्स एम्बुलेन्स सेवाका टोलीहरू तत्काल परिचालन गरिएको बताएकी छन्।




प्रतिक्रिया दिनुहोस्