नागढुंगा सुरुङमार्गका लागि जापानको थप ५.७ अर्ब येन ऋण सहयोग
जेष्ठ २०, काठमाडौं । नागढुंगा सुरुङमार्ग निर्माण आयोजना सम्पन्न गर्न जापान सरकारले थप ५ अर्ब ७० करोड जापानी येन (करिब ५ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको ऋण सहयोग उपलब्ध गराउने भएको छ।
आयोजनाको लागत वृद्धि र बजेट अभावलाई सम्बोधन गर्न जापान सरकारले उक्त अतिरिक्त ऋण सहयोग प्रदान गर्ने निर्णय गरेको हो। यससम्बन्धी समझदारी पत्रमा नेपालका लागि जापानी राजदूत माएडा तोरु र नेपाल सरकारका अर्थ सचिव घनश्याम उपाध्यायले हस्ताक्षर गरेका छन्।
यसअघि सन् २०१६ डिसेम्बरमा नागढुंगा सुरुङमार्ग निर्माणका लागि १६ अर्ब ६३ करोड ६० लाख जापानी येन ऋण सहयोगसम्बन्धी सम्झौता भएको थियो। तर, निर्माण अवधिमा मूल्यवृद्धि, निर्माण सामग्रीको लागत बढ्नुका साथै अन्य प्राविधिक कारणले परियोजनाको कुल लागत वृद्धि भएपछि थप वित्तीय स्रोत आवश्यक परेको थियो।
जापानी दूतावासका अनुसार नयाँ ऋण सहयोग थपिएसँगै नागढुंगा सुरुङमार्ग आयोजनाका लागि जापानको कुल ऋण सहयोग २२ अर्ब ३३ करोड ६० लाख जापानी येन पुगेको छ।
सन् २०१९ देखि निर्माण सुरु भएको यो राष्ट्रिय गौरवको आयोजना अन्तिम चरणमा पुगेको छ। आयोजनालाई यसै वर्षभित्र सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।
नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं उपत्यका प्रवेश तथा बाहिरिने मुख्य नाका नागढुंगामा हुने सवारी चाप, ट्राफिक जाम र यात्रा समय उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ। साथै, यातायातलाई थप सुरक्षित, सहज र प्रभावकारी बनाउँदै स्थानीय तथा राष्ट्रिय अर्थतन्त्रको प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।




प्रतिक्रिया दिनुहोस्