अन्तरिम सम्झौतासँगै १२ अर्ब डलरको सम्पत्ति फुकुवा गर्न इरानको माग
जेष्ठ, १९ काठमाडौं । इरानले अमेरिकासँग सम्भावित अन्तरिम सम्झौता हुनेबित्तिकै रोक्का रहेको आफ्नो १२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिमा तत्काल पहुँच उपलब्ध गराउन माग गरेको छ।
इरानी अर्धसरकारी समाचार संस्था फार्स न्यूज एजेन्सीका अनुसार कतारमा भएको वार्तामा सहभागी इरानी प्रतिनिधिमण्डलसँगै गएका पत्रकार सइद अजोरलुले यस्तो जानकारी दिएका हुन्। उनका अनुसार वार्ता यस्तो चरणमा पुगेको छ जहाँ रोकिएको सम्पत्तिमा पहुँच सुनिश्चित हुनु नै सम्झौता कार्यान्वयनको प्रमुख आधार बनेको छ।
अजोरलुले भनेका छन्, “१२ अर्ब डलरमा पहुँचको संरचनाले नै सम्झौता कार्यान्वयनको ग्यारेन्टीको काम गर्नुपर्छ। यदि सम्पत्तिमा पहुँच अवरुद्ध भयो भने इरान सम्झौताबाट बाहिरिन सक्ने अवस्था रहन्छ।”
उनका अनुसार माग गरिएको रकममध्ये ६ अर्ब डलर इरानको पहिलेदेखि रोक्का रहेको सम्पत्ति हो भने बाँकी ६ अर्ब डलर यस चरणमा थप रूपमा फुकुवा गरिनुपर्ने रकम हो।
यसअघि इरानी समाचार संस्था तस्निमले तेहरान र वाशिङ्टनबीच अन्तरिम सम्झौता भएमा कुल २४ अर्ब डलर बराबरको इरानी सम्पत्ति फुकुवा हुन सक्ने जनाएको थियो। सो रकममध्ये आधा अर्थात् १२ अर्ब डलर सम्झौता घोषणा हुनेबित्तिकै उपलब्ध गराइने चर्चा गरिएको थियो।
समाचारअनुसार उक्त रकमको ग्यारेन्टरको भूमिका कतारले निर्वाह गर्ने विषयमा पनि छलफल भएको थियो। तर कतारले भने इरानलाई १२ अर्ब डलर उपलब्ध गराउने वा त्यससम्बन्धी कुनै प्रस्ताव गरेको भन्ने समाचारको खण्डन गरेको छ।
इरानले सम्भावित सम्झौतापछि पनि आफ्नो सम्पत्तिमा पहुँच गुम्ने जोखिम स्वीकार गर्न नसक्ने स्पष्ट संकेत दिएको छ, जसले अमेरिका–इरान वार्ताको आगामी दिशामा प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।




प्रतिक्रिया दिनुहोस्