प्रधानमन्त्री बालेन्द्र शाह पुन: संसदमा सीमा विवादमा जवाफ दिन तयार

जेष्ठ, १९ काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाह सीमा विवादसम्बन्धी प्रश्नमा पुन: संसदमा जवाफ दिन तयार रहेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन्।

आजको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता पोखरेलले भने, “प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ। उहाँले अस्ति पनि सदनमा उपस्थित भएर उत्तर दिनुभएको हो। आवश्यकता परे फेरि उहाँ सदनमा आएर उत्तर दिनुहुन्छ।”

संसद्को १७ जेठको बैठकमा प्रधानमन्त्री शाहले नेपाल–भारत सीमा विवादसम्बन्धी अभिव्यक्ति दिएका थिए, जसपछि चौतर्फी आलोचना भएको थियो। उनले कतिपय ठाउँमा भारतले उपभोग गरिरहेको भूमि नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको भूमि भारतमा पर्न सक्ने बताए। प्रवक्ता पोखरेलका अनुसार उक्त अभिव्यक्ति सत्य हो।

यो विषय दुई देशबीच सीमा विवाद समाधानका लागि गठित कूटनीतिक संयन्त्रको सन्दर्भमा आएको हो। पोखरेलले भने, “दुई देशबीच सीमा विवाद मिलाउनका लागि विभिन्न संयन्त्रहरू छन्। नेपाल र भारतले दुबै डिप्लोमेटिक नोट आदान–प्रदान गरिसकेको छ। सबै विवाद मिलाउने प्रक्रिया संयन्त्रमार्फत अगाडि बढ्दैछ।”

सरकारका अनुसार यो विषय परराष्ट्र मन्त्रालयले पनि स्पष्ट पारेको छ र सबै कूटनीतिक प्रयास संयन्त्रमार्फत अगाडि बढाइँदैछ।

नेपाल–भारत सीमा विवादको संवेदनशीलताका कारण प्रधानमन्त्री शाहले सदनमा आवश्यक परे पुन: उपस्थित भएर विषयमा जवाफ दिने तयारी रहेको प्रवक्ता पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्