विश्व स्वास्थ्य संगठनले इबोलालाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा, नेपालमा सतर्कता उच्च

जेष्ठ, १९ काठमाडौं ।  अफ्रिकी मुलुक कङ्गो र युगाण्डामा फैलिएको इबोला भाइरसको नयाँ प्रकोपलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले अन्तर्राष्ट्रिय चासोको स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

नेपाल सरकारले पनि इबोला संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगरानी र तयारीका काम तीव्र बनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले मन्त्रालयले इबोला परीक्षण क्षमता, स्वास्थ्यकर्मीको दक्षता, उपचार व्यवस्थापन र संक्रमण नियन्त्रणका उपायहरू समीक्षा गर्दै मातहतका अस्पताल, प्रयोगशाला र सरुवा रोग निकायसँग समन्वय गर्दै आएको बताए।

उनका अनुसार, सम्भावित प्रवेशबिन्दुहरूमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ र यात्रुहरूको स्वास्थ्य निगरानी, संक्रमण सम्बन्धी अभिमुखीकरण, शंकास्पद बिरामीको परीक्षण तथा व्यवस्थापन भइरहेको छ। यसका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र सरुवा रोग अस्पतालहरूसँग समन्वय गरिँदैछ।

स्वास्थ्य सेवा विभागका महानिर्देशकको संयोजकत्वमा रहेको राष्ट्रिय इमरजेन्सी मेडिकल टिम पनि सक्रिय गरिएको छ। डा. अधिकारीले भने, “नेपालमा तत्कालै इबोला संक्रमण फैलिएको भनेर आत्तिनु पर्ने अवस्था छैन, तर निगरानी र सजगता आवश्यक छ।”

इबोला भाइरस कसरी सर्छ?
इबोला भाइरस मुख्य रूपमा जंगली जनावरबाट मानिसमा सर्छ। संक्रमित जनावरको मासु, रगत वा अन्य जैविक रससँग प्रत्यक्ष सम्पर्कबाट वा यौन सम्पर्कको माध्यमबाट पनि भाइरस सर्न सक्छ।

लक्षणहरू:
उच्च ज्वरो, टाउको दुख्ने, जोर्नी तथा मांसपेशी पीडा, कमजोरी, भोक हराउने, सास फेर्न गाह्रो हुनु। संक्रमण बढ्दा बान्ता, पखाला, छालामा रातो धब्बा, मिर्गौला र कलेजोमा असर र रगत बग्ने जस्ता जटिल लक्षण देखिन्छ।

उपचार र रोकथाम:
इबोलाको कुनै प्रभावकारी औषधि छैन। रोगीलाई स्याहार, पर्याप्त पानी र पोषण प्रदान गर्न आवश्यक छ। रगत परीक्षणबाट संक्रमण पत्ता लगाउन सकिन्छ। भ्याक्सिन परीक्षणमा छन् तर अहिलेसम्म आधिकारिक प्रयोगमा आएको छैन।

नेपाल सरकारले डब्लूएचओको निर्देशनअनुसार समन्वय र सतर्कता कायम राख्दै संक्रमण नियन्त्रणका लागि तयारी अगाडि बढाइरहेको छ।

प्रतिक्रिया दिनुहोस्