आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रहस्थ उत्पादन पुग्ने प्रक्षेपण
काठमाडौँ, १८ जेठ। अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुँदा ७४ खर्ब ५८ अर्बको कुल ग्रहस्थ उत्पादन पुग्ने प्रक्षेपण गरिएको बताउनुभएको छ।
नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया कार्यक्रमा अर्थमन्त्री वाग्लेले पाँच वर्षको समयावधिलाई दृष्टिगत गरी बजेट ल्याइएको बताउँदै आगामी वर्ष करिब १६ खर्व राजश्व संकलन गर्ने लक्ष्य राखिएको बताउनुभयो।
उहाँले प्रक्षेपित कुल ग्रहस्थ उत्पादन ७४ खर्बको आधारमा ७ प्रतिशतको आर्थिक वृद्धि कायम गर्न सकिने विचार व्यक्त गर्नुभयो।
कुल ग्रहस्थ उत्पादनको तुलनामा ऋण ४३ प्रतिशत बढी धेरै नहुने बताउँदै अर्थ मन्त्री वाग्लेले आगामी वर्षको बजेटमा पूराना कार्यक्रमको दायित्व रहेको त्यसलाई सरकारले निरन्तरता दिने जानकारी दिनुभयो।
विद्युतीय गाडी पूर्ण रुपमा स्वच्छ उर्जा नभई ब्याट्री व्यवस्थापन गर्ने विषय पेचिलो रहेको बताउँदै उहाँले भन्नुभयो, प्रधानमन्त्रीले ५० लाख तलका गाडीमा नबढाउन निर्देशन दिनुभएको छ, ५० लाखसम्मका गाडीमा कर घटाइने छ । ५० लाख माथिका गाडी विलाशिता हो। त्यसलाई बढाउँदा खासै फरक पर्दैन ।
अर्थमन्त्री वाग्लेले विद्युतमा लगाइएको मूल्य अभिवृद्धि कर ९भ्याट०बाट सरकार पछाडि नहट्ने बताउँदै अन्तिम उपभोक्तालाई मारमा नपर्ने गरी विभिन्न विकल्पहरूमा छलफल भइरहेको उल्लेख गर्नुभयो।
आगामी साउनदेखि नै अन्तिम उपभोक्तालाई मार नपर्ने गरी विकल्प ल्याइने बताउदै उहाँले उपभोक्तालाई कुनै प्रकारले सहुलियत दिने प्रतिबद्धता प्रकट गर्नुभयो।
मन्त्री वाग्लेले आयमा आधारित कर भन्दा उपभोगमा आधारित कर प्रभावकारी हुने तथा उपलब्धी हासिल गर्न सकिने भएकाले त्यसतर्फ कार्यक्रम अगाडि बढाइएको प्रष्ट पार्नुभयो।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक गुरु पौडेलले वैदेशिक मुद्रा सञ्चितिको आधार विप्रेषण रहेको बताउँदै यसलाई दिगो बनाउन स्वदेशी वस्तु उत्पादन तथा निर्यातमा जोड दिनुभयो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठ र नबिल अध्यक्ष मेनुका कार्कीले वजेटको स्वागत गर्दै सफल कार्यान्वयनमा जोड दिनुभयो। कृष्णराज गौतम




प्रतिक्रिया दिनुहोस्