पीएसजीको ऐतिहासिक जितपछि पेरिसमा उत्सव, तर हिंसात्मक झडपमा ४१६ पक्राउ

जेष्ठ १७, काटठमाडौं ।फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब आर्सनललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि पेरिसमा विशाल उत्सव देखिएको छ। तर खुसीको माहोल छिट्टै हिंसात्मक घटनामा परिणत हुँदा स्थिति तनावपूर्ण बनेको छ।

चाम्स–एलिसेस क्षेत्रमा हजारौं समर्थकहरू भेला भएर उत्सव मनाइरहेका बेला केही समूहले आगजनी, तोडफोड र सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ। पार्क दे प्रिन्स रंगशाला बाहिर ठूलो स्क्रिनमा खेल हेर्ने क्रममा समर्थक र सुरक्षाकर्मीबीच पनि झडप भएको थियो।

प्रहरीका अनुसार घटनामा कम्तीमा ६ सवारी साधन, दुई व्यापारिक पसल र एउटा बस स्टपमा क्षति पुगेको छ। देशभर ४१६ जनालाई पक्राउ गरिएको छ, जसमध्ये २८० जना पेरिसबाट मात्रै पक्राउ परेका हुन्।

पेरिस प्रहरी प्रमुख नुनेजले सात प्रहरी घाइते भएको पुष्टि गर्दै घटनालाई “अक्षम्य” भनेका छन्।

यसबीच, दक्षिणपन्थी नेतृ मरिन ले पेनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै यस्तो अवस्था “दुःखद” भएको टिप्पणी गरेकी छन्।

हिंसात्मक घटनाबीच पनि आइतबार दिउँसो विजेता टोलीको सम्मानमा चाम्स–दे–मार्स क्षेत्रमा ‘भिक्ट्री परेड’ आयोजना हुने कार्यक्रम तय गरिएको छ, जहाँ राष्ट्रपति इमानुएल म्याक्रोनले टोलीलाई स्वागत गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्