विद्यालय कर्मचारी परिषद्को माग: बजेटमा सेवासुविधा स्पष्ट गर्न आग्रह

जेष्ठ १७, काठमाडौं — नेपाल विद्यालय कर्मचारी परिषद्ले आगामी आर्थिक वर्षका लागि सरकारले संसद्‌मा पेस गरेको बजेटमा विद्यालय कर्मचारीको सेवासुविधा सम्बन्धी विषय पुनः विचार गर्न माग गरेको छ।

परिषद्ले आइतबार जारी गरेको विज्ञप्तिमा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरूको तलबमान, स्थायित्व तथा सामाजिक सुरक्षासम्बन्धी विषय बजेटमा स्पष्ट रूपमा उल्लेख नभएको भन्दै गम्भीर ध्यानाकर्षण गराएको छ।

परिषद्का अध्यक्ष गङ्गाराम तिवारी र महासचिव शान्तिराम योगीले हस्ताक्षर गरेको विज्ञप्तिमा विद्यालय कर्मचारीका जायज मागहरू लामो समयदेखि सम्बन्धित निकायसमक्ष राखिँदै आए पनि अझै सम्बोधन नभएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, राजनीतिक दलका नेतृत्व तथा सरकारका उच्च पदाधिकारीहरूसँग पटक–पटक छलफल र ध्यानाकर्षण गराइए पनि ठोस परिणाम नआएको गुनासो गरिएको छ।

परिषद्ले बजेटमाथिको छलफल तथा पारित हुने प्रक्रियामा विद्यालय कर्मचारीहरूको तलबमान, स्थायित्व, सामाजिक सुरक्षा र अन्य सेवासुविधा सम्बन्धी विषय स्पष्ट रूपमा समेट्न सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्