एमालेको निष्कर्ष: आगामी बजेट ‘गैरजिम्मेवार र हावादारी’

जेष्ठ १७, काठमाडौं — नेकपा (एमाले) ले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेटलाई “गैरजिम्मेवार र हावादारी” भन्दै आलोचना गरेको छ। शनिबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले बजेटले आम जनताको अपेक्षा र देशको वर्तमान आवश्यकतालाई सम्बोधन गर्न नसकेको निष्कर्ष निकालेको हो।

पार्टीका प्रमुख सचेतक ऐनबहादुर महरका अनुसार बैठकमा बजेटका विभिन्न आयाम र प्राविधिक पक्षबारे विस्तृत छलफल गरिएको थियो। छलफलमा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडा तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. शिवराज अधिकारीले विज्ञतामूलक विश्लेषण प्रस्तुत गरेका थिए।

एमालेले बजेटमा “रूपान्तरणकारी योजना” को अभाव रहेको, साथै शिक्षा, कृषि र पर्यटन जस्ता क्षेत्रलाई प्राथमिकतामा नराखिएको आरोप लगाएको छ। त्यस्तै, बजेटको स्रोत सुनिश्चितता र ऋणमा निर्भरता सम्बन्धमा पनि पार्टीले प्रश्न उठाएको छ।

बैठकपछि प्रमुख सचेतक महरले भने, “यो बजेटले अपार जनमतसहित बनेको सरकारको अपेक्षित रूपान्तरणकारी दृष्टिकोण प्रस्तुत गर्न सकेको छैन। गरिब, मजदुर, किसान, महिला, बालबालिका र विद्यार्थीका विषयमा पर्याप्त ध्यान दिइएको छैन।”

एमालेले आगामी जेठ १८ गतेदेखि संसदमा सुरु हुने बजेट छलफलमा यिनै विषयलाई केन्द्रमा राखेर आफ्नो धारणा प्रस्तुत गर्ने जनाएको छ। पार्टीले बजेटका कमजोरीहरूलाई सशक्त रूपमा सदनमा उठाउने र साझा दृष्टिकोणका साथ अघि बढ्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्