भन्सार दर बढेसँगै सुनको मूल्यमा ऐतिहासिक उछाल, एकै दिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

जेष्ठ १७, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकै दिन ठूलो वृद्धि भएको छ। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुनको भन्सार दर १० प्रतिशतले बढाएपछि त्यसको प्रत्यक्ष असर बजारमा देखिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला २० हजार ५०० रुपैयाँले बढेर ३ लाख ११ हजार १०० रुपैयाँ पुगेको छ।

यसअघि जेठ १५ गते छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। नयाँ भन्सार दर लागू हुने घोषणापछि बजारमा सुनको मूल्यमा एक्कासि वृद्धि देखिएको महासंघले जनाएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्ने भन्सार महसुल १० प्रतिशतले बढाउने व्यवस्था गरेको छ। यस निर्णयले आयात लागत बढेपछि त्यसको प्रभाव प्रत्यक्ष रूपमा बजार मूल्यमा परेको व्यवसायीहरू बताउँछन्।

सुनको मूल्यमा भएको यो वृद्धि हालसम्मकै उच्चमध्ये एक मानिएको छ। मूल्यवृद्धिसँगै सुन खरिद गर्ने उपभोक्ता तथा सुन व्यवसायी दुवै प्रभावित हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्