भारतबाट उद्दार गरिएका ४५३ जना नेपाली रूपन्देही ल्याइयो, अनुसन्धान हुँदै
काठमाडौं, १६ जेष्ठ । भारतको उत्तर प्रदेशस्थित कुशीनगरबाट उद्दार गरिएका चार सय ५३ नेपालीलाई बेलहिया नाका हुँदै नेपाल ल्याएर जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखी छानबिन सुरु गरिएको छ ।
आकर्षक जागिर र उच्च आम्दानीको प्रलोभनमा पारेर नेटवर्किङ व्यवसायको नाममा भारत पुर्याइएका नेपालीमध्ये को पीडित र को यस कार्यमा संलग्न पीडक हुन् भन्ने छुट्याउन प्रहरीले अनुसन्धान थालेको हो ।
उद्दार गरिएका नेपालीलाई आठ वटा भारतीय बसमार्फत् शनिबार मध्यान्ह सुनौली–बेलहिया नाका हुँदै भैरहवा ल्याइएको थियो । उनीहरूलाई हाल जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा राखेर विवरण सङ्कलन, स्क्रिनिङ तथा सोधपुछको काम भइरहेको प्रहरीले जनाएको छ ।
रूपन्देहीका प्रहरी प्रमुख एसपी जनकबहादुर शाहीका अनुसार भारतीय प्रहरीको सहयोग, भारतस्थित नेपाली दूतावासको समन्वय तथा नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लको नेतृत्वमा खटिएको टोलीले उद्दार अभियान सञ्चालन गरेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा उद्दार गरिएकामध्ये केही अलपत्र परेका, केही हराएका तथा केहीलाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्याइ बन्दक बनाइएको हुनसक्ने देखिएको उनले बताए ।
प्रहरीका अनुसार उद्दार गरिएकामध्ये करिब आधा महिला छन् । अनुसन्धानपछि पीडितलाई आफन्तको जिम्मा लगाएर घर पठाइने तथा घटनामा संलग्न व्यक्तिमाथि थप कानुनी कारबाही अघि बढाइने तयारी गरिएको छ ।
भारतस्थित नेपाली दुतावासका मिनिस्टर काउन्सिलर अम्बिका जोशीले नेटवर्किङ मार्केटिङका कारण नेपालीहरू पीडित बनेको गुनासोका आधारमा लामो समय अध्ययन र समन्वयपछि उद्दार सम्भव भएको बताए ।
उद्दार कार्यमा उत्तर प्रदेश सरकार र भारतीय सुरक्षा निकायको महत्वपूर्ण सहयोग रहेको उनको भनाइ छ । नेपाल प्रहरीका एसएसपी प्रकाश मल्लले करिब ६ महिनासम्म अध्ययन र सूचनाको विश्लेषण गरेपछि उत्तर प्रदेश तथा कुशीनगर प्रहरीसँग समन्वय गरेर उद्दार अभियान सञ्चालन गरिएको बताए ।
उनका अनुसार नेपाली युवायुवतीलाई धेरै कमाइ हुने आश्वासन दिएर नेटवर्किङ व्यवसायमा आबद्ध गराउने, त्यसपछि थप सदस्य ल्याउन दबाब दिने र अपेक्षाअनुसार काम नगरे मानसिक तनाव दिने गरिएको थियो । यसमा पीडित र सञ्चालक दुवै नेपाली नै रहेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
उद्दार अभियानमा सहयोग गरेको किन इन्डिया संस्थाका नवीन जोशीले कुशीनगरमा नेपालीहरूको दयनीय अवस्था फेला परेपछि उद्दारका लागि पहल गरिएको बताए ।
उनका अनुसार एउटै कोठामा १५–१६ जनासम्म राख्ने, गर्मीबाट बच्ने कुनै उचित व्यवस्था नगर्ने र थप आफन्त तथा चिनेजानेका व्यक्तिलाई सदस्य बनाउन दबाब दिने गरिएको थियो।
प्रहरीका अनुसार गिरोहले नेपालका विभिन्न जिल्लाबाट युवायुवतीलाई आकर्षक जागिर र राम्रो आम्दानीको प्रलोभनमा सुनौली हुँदै कुशीनगर पुर्याउने गरेको थियो ।
त्यहाँ पुगेपछि प्रतिव्यक्ति सात हजार भारतीय रुपैयाँदेखि एक लाख रुपैयाँसम्म रकम असुल गरी नेटवर्किङ व्यवसायको शैलीमा सदस्यता विस्तार गराउने गरिएको अनुसन्धानबाट खुलेको छ ।
एसपी शाहीका अनुसार कुशीनगरमा लुम्बिनी, कोशी र सुदूरपश्चिम प्रदेशका गरी कम्तीमा एक हजार नेपाली युवायुवतीलाई लगेर राखिएको सूचना प्राप्त भएपछि अनुसन्धान सुरु गरिएको थियो ।
पीडितका आफन्तले बन्धक बनाएर रकम मागिएको भन्दै उजुरी दिएपछि नेपाल प्रहरीले भारतीय प्रहरीसँग समन्वय गरी उद्धार अभियान सञ्चालन गरेको हो ।
प्रहरीले चार दिनको निरन्तर प्रयासपछि भारतीय प्रशासन र प्रहरीको सहयोगमा उद्दार कार्य सफल भएको र सदस्यता शुल्कका नाममा रकम असुल्ने, नयाँ सदस्य थप्न दबाब दिने तथा सदस्य बन्न नसकेका व्यक्तिका परिवारलाई समेत धम्की दिएर रकम उठाउने प्रयास भएको सूचना आएको जनाएको छ ।
घटनामा संलग्न व्यक्तिहरूको पहिचान, मानव बेचबिखन, ठगी तथा संगठित अपराधसँग सम्बन्धित पक्षबारे विस्तृत अनुसन्धान सुरु गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्