राजनीतिक दललाई सरकारी अनुदान दिने विषयमा बृहत बहस गराइने : अर्थमन्त्री वाग्ले

जेष्ठ १५, काठमाडौं — अर्थमन्त्री स्वर्णीम वाग्ले ले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई सरकारी अनुदान दिने विषयमा बृहत राजनीतिक बहस गराइने बताएका छन्।

शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै उनले लोकतान्त्रिक प्रणालीलाई थप पारदर्शी र उत्तरदायी बनाउन यस्तो व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए।

बजेट भाषणका क्रममा उनले पछिल्लो आम निर्वाचनमा प्राप्त मतका आधारमा राष्ट्रिय मान्यता प्राप्त दललाई सरकारी अनुदान उपलब्ध गराउने विषयमा व्यापक छलफल गराइने बताएका हुन्।

“राजनीतिक प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको बलियो आधार निर्माण गर्नेछौं। स्वस्थ लोकतान्त्रिक प्रतिस्पर्धालाई संस्थागत गर्न राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दललाई पछिल्लो आम निर्वाचनमा प्राप्त मतका आधारमा सरकारी अनुदान दिनेबारे बृहत राजनीतिक बहस गराउने छौं,” वाग्लेले भने। उनले यस्तो अनुदानको लेखापरीक्षण महालेखा परीक्षकबाट गराइने व्यवस्था मिलाइने पनि बताए।“यसरी उपलब्ध हुनसक्ने अनुदानको लेखापरीक्षण महालेखा परीक्षकले गर्ने व्यवस्था मिलाइनेछ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्