नवप्रवर्तन क्षेत्रमा पुँजीगत खर्चको कम्तीमा १ प्रतिशत बजेट छुट्याइने

जेष्ठ १५, काठमाडौं । सरकारले नवप्रवर्तन (इनोभेसन) क्षेत्रमा पुँजीगत खर्चको कम्तीमा एक प्रतिशत बजेट छुट्याउने घोषणा गरेको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नवप्रवर्तन, विज्ञान तथा प्रविधिको विकासलाई प्राथमिकता दिँदै यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

सरकारले अनुसन्धान, प्रविधि विकास तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले पुँजीगत खर्चको निश्चित हिस्सा यस क्षेत्रमा विनियोजन गर्ने नीति अघि सारेको जनाएको छ ।

नवप्रवर्तन क्षेत्रमा बजेट सुनिश्चित गर्न राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा सांसद महावीर पुनले लामो समयदेखि माग गर्दै आएका थिए । उनकै पहल र दबाबपछि सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय गठन गरेको थियो ।

सरकारको यो घोषणाले अनुसन्धान, प्रविधि विकास र स्टार्टअप इकोसिस्टमलाई थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्